• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

काँग्रेसले ‘जय नेपाल’ शब्द डिलिट गरेर ‘मेरो सरकार’ भन्नुपर्छ : मन्त्री बाँस्कोटा


बैशाख २७, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्दा प्रयोग गरेको ‘मेरो सरकार’ शब्दको बचाउ गरेका छन् । उनले शब्दको पछि नलाग्न आग्रह गरे ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘मेरो सरकार’ शब्द कसैको बिर्ता नभएको उनले बताए । ‘यो सबै नेपालीको साझा सरकार हो, राष्ट्रपतिको पनि हो,’ मन्त्री बाँस्कोटाले भने, ‘पहिला कसले भनेको थियो, त्यो शब्द उसैको बिर्ता हुने हो भने शब्दकोशबाट डिलिट गरिदिनुर्पयो ।’ कांग्रेसले नीति तथा कार्यक्रम पास गर्ने दिनसंसद्मा गरेको अवरोध साधारण भएको प्रतिक्रिया बाँस्कोटाले दिए ।

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम पास भइसकेको छ । पहिला–पहिला पनि यस्तो छलफल हुन्थ्यो । प्रमुख प्रतिपक्षको चासोलाई हामीले सधैं सम्बोधन गरेरै गएका छौं ।’ ‘मेरो सरकार’ काँग्रेले पनि उचारण गर्नुपर्ने उनले बताए ।

तत्कालीन राजा महेन्द्रले २०१७ सालमा कू गर्दा प्रयोग गरेको ‘जय नेपाल’ शब्द बोकेर हिँड्नेहरूले नै ‘मेरो सरकार’ को आलोचना गरेको उनले बताए । ‘हेर्ने हो भने त जय नेपाल शब्द पनि शब्दकोशबाट डिलिट गरिदिनुपर्छ, जय नेपाल प्रहरीले भन्छ, त्यो प्रहरीको मात्र शब्द हो,’ उनले भने, ‘तर प्रमुख प्रतिपक्ष कांग्रेसले त्यसैलाई बोकेर हिँडिरहेको छ ।’

२०१७ सालमा जननिर्वा्चित बीपी कोइरालाको पहिलो दुई तिहाइकै सरकार अपदस्थ गर्दा सबै कुरा सिध्याएर थन्क्याइसकेपछि महेन्द्रले जय नेपाल, श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भनेको र कांग्रेसले त्यही शब्द अहिलेसम्म बोकिरहेको उनले बताए ।

उनले सबै अतिक्रमित सार्वजनिक जग्गा सरकारले आफ्नो मातहत ल्याउने बताए । ’यसप्रति हामी गम्भीर रूपमा लागिपरेका छौं,’ उनले भने, ‘यो विषय सार्वजनिक सम्पत्ति रक्षासँग जोडिएको कुरा हो । अहिले सरकारले कदम उठाएपछि त्यसमा जोडिएका कतिपय व्यक्तिले विभिन्न प्रकारका अपिल गरेको देखेका छौं । यस्ता अपिलबाट हामी प्रभावित हुँदैनौं ।’

उनले देशैभरि यस्ता जग्गा रहेको र यसलाई कसरी सरकारले आफ्नो सम्पत्तिका रूपमा, जनताको सम्पत्तिका रूपमा कायम गर्ने भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भई छलफल सुरु गरिरहेको बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार