• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङका विभिन्न स्थानमा भएको आगलागीबाट १२ घरगोठ जलेर नष्ट


बैशाख २७, दाङ ।
दाङका विभिन्न स्थानमा भएको आगलागीबाट १२ घरगोठ जलेर नष्ट भएका छन् । ५३ लाख बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १ सिरुखर्क र राजपुर गाउँपालिका १ पटौलीमा बुधवार साँझ भएको आगलागीबाट ६ घर र ६ गोठ जलेर नष्ट भएका छन् ।

घोराही उपमहानगरपालिका १ सिरुखर्क ५ घर र ५ गोठमा आगलागी हुँदा ५० लाख ९० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सल्लीकोट सामदायिक बनबाट फैलिएको आगाले हेमलाल थापा, मेघराज थापा, शिबलाल थापा, देवबहादुर थापा र प्रेमबहादुर थापाको ५ घर र ५ गोठ जलेर नष्ट भएका छन् ।

वनमा फैलिएको आगोको झिल्काले आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोदविक्रम शाहले जानकारी दिए । त्यस्तै राजपुर गाउँपालिका १ पटौली नाकाका गगन बस्नेतको घरगोठमा आगलागी भएको छ ।

सोलारको तार सर्ट भएर भएको आगलागीबाट ४ वटा बाख्रा मर्नका साथै घरगोठ पूर्णरुपले जलेको प्रहरीले जनाएको छ । आगलागीबाट ढाई लाख बराबरको क्षति भएको छ । यसअघि मंगलबार मात्रै घोराही उपमहानगरपालिका १ तल्लो मालेमा ८ घरगोठ जलेर नष्ट हुँदा साढे ३१ लाखको क्षति भएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार