• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीले सांसदहरुलाई भेडा बाख्रा जस्तै बनाए : वरिष्ठ अधिवक्ता भण्डारी


बैशाख २७, काठमाडौं ।

जनाधिकार अभियान, नेपालका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीले प्रधानमन्त्री ओलीलाई निर्वाचित गर्ने सबै सांसदहरु दलाल भएको आरोप लगाएका छन् । काठमान्डौमा भएको एक प्रेस स्वतन्त्रता तथा जनाधिकार बिषयक कार्यक्रममा बोल्दै भण्डारीले यस्तो आरोप लगाएका हुन् ।

अहिले संसदीय परिपाटीको विपरित प्रधानमन्त्री ओलीले सांसदहरुलाई झपार्ने गरेको उनले बताए । उनले भने, “संसदमा कुनै पनि विषय राख्दा सभामुखलाई सोधेर मात्रै गर्ने प्रावधान छ तर दुई तिहाइको आडमा ओलीले अरु सांसदहरुलाई भेडा बाख्रालाई जस्तै संसदमै त चुप लाग भनेर झपार्छन् ।”

प्रधानमन्त्री केपी ओलीले प्रयोग गरेको निम्छरा अभिव्यक्ति अमयार्दित भएको बताए । प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरूको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु,’ भन्ने बिबादित अभिव्यक्ति बारे अधिवक्ता भण्डारीले टिप्पणी गरेका हुन् ।

उनले भने, “अहिलेको संविधानले कानुन, विधिको शासन, नागरिक अधिकारजस्ता विषयहरु उल्लेख गरेपनि सत्ताधारीहरुले केवल त्यसलाई भाषणवाजी गर्ने, अन्तर्रा्ष्ट्रिय समुदायलाई भ्रमित पार्ने औजारका रुपमा प्रयोग गरिरहेका छन् ।”

उनले अगाडि भने, “ओलीलाई प्रधानमन्त्रीमा भोट दिने सबै दलाल हुन् । कोही शिक्षा माफिया छन्, कोही स्वास्थ्य माफिया, कोही जलमाफिया त कोही भूमाफिया अनि ओलीले नझपारे के गर्छन् ? कोही राम्रा सांसदहरु पनि छन् तर उनीहरुको अल्पमत छ । तिनै दलालहरुले ओलीलाई प्रधानमन्त्री बनाए अनि कसरी हुन्छ स्वतन्त्र न्यायपालिका ? अहिले न्यायपालिका सरकारको कब्जामा छ ।”

ओली नेतृत्वको नेकपाले सरकार, सदन र न्यायालयलाई आफु अनुकुल प्रयोग गरेको आरोप लगाउदै उनले भने, “आफ्नो सत्ता लम्ब्याउनको लागि उनिहरु जुनसुकै कुरा संशोधन गर्न तयार हुन्छन्, कुनै दिन उनीहरुले ५ महिना जेल परेको अभियुक्तलाई प्रधान न्यायधीश बनाउन दुई तिहाईले संविधान संशोधन गरे आश्चर्य नमाने हुन्छ ।”

त्यस्तै सत्तारुढ पार्टीका नेताहरुले आफैले बनाएको संविधानको मर्म विपरित विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार