• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

बजार समिती नहुँदा सल्यान श्रीनगरका व्यापारीहरुले गरे नियम उल्लंघन


बैशाख २८, सल्यान ।
सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगर बजारका केहि पसलहरु शनिबार पनि खुल्ला हुँने गरेका छन् । शनिबार बजारका सबै पसलहरु बन्द गर्ने निर्णय भएपनि व्यापारीहरुले त्यसको अटेरी गर्दै पसल खुल्ला गर्ने गरेका हुन् ।

शनिबार पसल बन्द गर्ने निर्णय भएको सुरु सुरुमा पसल बन्द भएर सुनसान देखिने श्रीनगर पछिल्लो समय शनिबार पनि चहलपहल देखिन थालेको हो । व्यापारीका अनुसार अहिले श्रीनगर बजार व्यवस्थापन समिती भंग भएको र त्यसैको मौकामा केहि व्यापारीहरुले पसल खोल्ने गरेका हुन् ।

नाम नबताउने सर्तमा एक व्यापारीले भने– “शनिबार रेस्ट गरौँला भनेर बजार बन्द गर्ने निर्णय गरिएको हो । तर केहि पसलहरु खुल्दा हामीलाई घाटा लागेको छ ।” उनले शनिबार कि सबै पसल खुल्ला हुनुपर्ने कि त सबै बन्द हुनुपर्ने बताए । श्रीनगर बजार व्यवस्थापन समिती पनि तत्काल गठनको पहल गरिदिन उनले सल्यान उद्योग वाणिज्य संघलाई आग्रह पनि गरेका छन् ।

उद्योग वाणिज्य संघको मुख्य कार्यालय भएकै ठाउँमा यस्तो समस्या देखिएपछि संघका महासचिव भरत बस्नेतले विभिन्न कारणले बजार व्यवस्थापन समिती गठन हुन नसकेको बताए । उनले भने, “हामीले जिल्लाभरी ५४ वटा बजार समिती गठन गरेका छौँ, तर श्रीनगरमा पहिलेको समिती भंग भएपनि विभिन्न  राजनितीक कारणले गठन हुन सकेको छैन् ।”

समितीको विधानमै समस्या देखिएपछि विधान संसोधन गरेर बजार व्यवस्थापन समिती गठन गर्नुपर्ने उनले बताए । उद्योग वाणिज्यले समिती गठनको लागी संयोजक बनाएकोले अब छिटै बजार व्यवस्थापन समिती गठन हुने उनले बताए ।

शनिबार बन्द नगर्ने व्यापारीहरुलाई सिधै उद्योग वाणिज्य संघले हस्तक्षेप गर्न नमिल्ने उनको तर्क छ । यो बजार समितीले निर्णय गर्ने भएकाले समिती गठन भएपनि मात्रै सबै समस्या समाधान हुने उनले बताए ।

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार