• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सरकारले मिडिया विद्येयक फिर्ता नलिए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी


बैशाख २८, काठमाडौं ।

नेपाल पत्रकार महासंघ सहित विभिन्न पत्रकार संघ संगठनका नेताहरूले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको फिर्ताको माग गर्दै कडा रुपमा प्रस्तुत भएका छन् । रिपोर्टस क्लबले आज आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा उनिहरुले मिडिया काउन्सिल सम्बन्धी विद्येयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसनमा जाने समेत चेतावनी दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक तत्काल खारेज नगरे अन्तर्रा्ष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने चेतावनी दिएका छन् । उनले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने जिकिर गरे ।

उनले भने, ‘यो विद्येयक कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन् । हामीले आन्दोलनको घोषणा गरिसकेका छौं ।’ उनले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले यसको स्वतन्त्र प्रेसको रक्षा हुनुपर्ने स्पष्ट पारे । तर, पछिल्लो समय प्रेसलाई नियन्त्रित कानून ल्याउने काम भएकोमा उनले आक्रोश पोखे ।


पत्रकार महासंघ  महासचिब रमेश बिष्ट

सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठ्ने प्रयास गरेको भन्दै सरकारको विरुद्धमा लड्न गाह्रो भैरहेको पनि उनले जनाए । उनले थपे, ‘मिडिया काउन्सिलको स्वायत्तताको रक्षाको लागि हामी जस्तोसुकै कदम पनि चाल्न तयार छौं । यसको गठन प्रक्रिया र नियत नै खराब छ ।’

उनले भने,‘हामी दरवारसँग लडेर आएका हौं । हामीसँग आफ्नो अधिकार रक्षाको लागि पर्याप्त क्षमता र अनुभव छ । सीप छ ।’ कुनैपनि शर्तमा आफूहरुलाई यो विद्येयक र ऐन मान्य नहुने र देशभरिका पत्रकारहरु सडकमा उत्रिने पनि विष्टले चेतावनी दिए ।

कार्यक्रमका अर्का वक्ता प्रेस युनियनका सभापति बद्री सिग्देलले सरकारले निरङकुस कदम चालेको भन्दै आक्रोस व्यक्त गरे, सिग्देलले पञ्चायती व्यवस्था भन्दा सरकार मिडिया प्रति कठोर बन्नुलाई गम्भीर रुपले हेर्नु पर्ने बताए ।

उनले पत्रकारले ढुक्क संग कलम चलाउन नपाउने यो कस्तो व्यवस्था हो भन्दै प्रधानमन्त्री ज्यु तपाईं १२ बर्ष जेल बसेको यहीँ प्रेस स्वतन्त्रताका लागि होइन भन्दै प्रश्न समेत गरे । सरकारले ल्याएको प्रेस विरोधी विधेयकको तत्काल फिर्ता गर्नुपर्ने भन्दै आन्दोलनमा जानु पर्ने बताए ।


प्रेस युनियनका सभापति बद्री सिग्देल

कार्यक्रम प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले सरकारले ल्याएको विधेयक गल्ती भएको भए पुर्न्विचार गर्न सकिने तर हतारोमा आन्दोलनको कार्यक्रम घोषणा गर्न नहुने तर्क गरे । उनले सञ्चारमन्त्री मिडिया प्रति जिम्मेवार भएको भन्दै अनावश्यक उतेजित नहुने बताए ।


प्रेस संगठनका नेता महेश्वर दाहाल

कार्यक्रममा जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताए,उनले दिनप्रतिदिन पत्रकारहरुको धरपकड र गिरफ्तारी प्रति चर्को आक्रोस पोखेका छन् । सरकारले सविधान प्रदत्त अधिकार खोसेर पत्रकार माथि घेराबन्दी गर्न खोज्नु दुखद भएको बताए । उनलेे पत्रकारहरु रेडियोको स्टुडियो, पत्रिकाको कार्यलय, रिपोर्टिङ स्थल बाट गिरफ्तारी गरी राजद्रोह र संगठित अपराधको मुद्दा लगाउनुले लोकतान्त्रिक व्यवस्थाको भद्दा मजाक भएको जिकिर गरे ।

उनलेे पत्रकारहरु कसरी कलम चलाएका छन् ,कसरी दैनिकी गुजारा चलाएका छन् त्यो प्रति सरकार गम्भीर नबनेर उल्टो विभिन्न एेन नियम बनाएर प्रेस जगतको घाटि निमोठ्न खोज्नुले पञ्चायतकालको स्मरण गराएको बताए ।


जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे

नेपाल सरकार मन्त्री परिषद्बाट पारित भएर संसदमा वैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्रावधानप्रति देशभर पत्रकारहरु आन्दोलित भएका छन्

विधेयक तत्काल फिर्ता लिन सरोकारवाला पक्षसँग माग गरेका छन्। संग संगठनहरुले उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

कार्यक्रम क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको थियोे ।


रिपोर्टर्स क्लवका अध्यक्ष तथा पत्रकार ऋषि धमला

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार