• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

भीषण आगलागीको मुस्लोमा सल्यान : २ जनाको मृत्यु, १२ घरगोठ जलेर खरानी


बैशाख २८, सल्यान ।
सल्यानका विभिन्न सामुदायीक वनमा भएको लगातारको भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । आगलागीबाट अहिलेसम्म १२ ओटा घरगोठ जलेर नष्ट भएका छन् ।

शुक्रबार बिहानदेखि छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा भएको भीषण अगलागीमा शनिबार आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया पेन्टी बोहराको ज्यान गएको हो । उनि सँगै आगो निभाउने सोहि ठाउँका ४० बर्षिय खगेन्द्र बोहरा गम्भीर घाईते भएका छन् । घाईते बोहराको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

रामकाडामा लागेको आगोको मुस्लोले भीषण रुप लिएर सिमपानीसम्म पुगेको हो । यो आगो अझै नियन्त्रणमा आउन नसकेको वडा अध्यक्ष चुडामणि दसौदीले बताए । उनका अनुसार रामकाडामा ६ घर र ४ गोठ जलेर नष्ट भएका छन् ।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए । डढेलोका कारण रामकाँडाका जीतबहादुर रानाको दुई घर, ओमबहादुर राना, टुल्कबहादुर राना, पदमबहादुर राना, गौरीलाल लगाएतको छ घर र चार गोठ जलेर नष्ट भएका छन् । डढेलोका कारण घर नष्ट हुनुका साथै घरमा भएका सम्पूर्ण सामग्री लत्ताकपडा, खाद्यान्न घरमा राखेको पैसा, गरगहना जलेर नष्ट भएको सामुदायिक वनका अध्यक्ष रामबहादुर बुढाथोकीले बताए ।

यस्तै जिल्लाको शारदा नगरपालिका ९ दुवेरी पुनटोलका अन्दाजी ६० बर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायीक वनमा लागेको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । बैशाख २४ गते घरबाट निस्कीएका उनि परिवारको सम्पर्कमा नआए पछि खोजिकार्य गर्दा शुक्रबार बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका इनिस्पेक्टर पंचलाल गोलेले बताए ।

बैशाख २४ गते देखि सामुदायिक वनमा आगलागी भएको र त्यतीखेर नै बाटोमा हिड्ेका उनि जलेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक पुनको आगलागीमा परी भिरबाट ३ सय मिटर तल लडेर जलेको अवस्थामा लास फेला परेका हो । उनको शरिरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ ।

उता कपुरकोट गाउँपालिकाको मुलपानीमा आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ । शुक्रबार बेलुका स्थानीय सामुदायीक वनमा लागेको आगो नियन्त्रणमा लिन खोज्दा पनि मुस्लो दन्कीएर घरमा पुगेको हो । घरमा रहेका सबै सामाग्री निकालेपनि बाकस निकाल्न नसकेर पैसा र जग्गाको लालपुर्जा जलेको पीडित खड्काले बताए ।

यता शारदा नगरपालिका १० मदना नजिकै भएको आगलागीले पनि एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कालिमाटी गाउँपालिका १ र शारदा १० को सिमानामा पर्ने ढुङ्गेकटेरिमा बिहीबार बिहान भएको आगलागीले स्थानीयको एक गोठ जलेको प्रहरीले जनाएको छ । यहाँ आगलागीबाट अहिलेसम्म एउटा गोठ, एक गोरु, गहुँ र बेसार बारी पनि जलेर नष्ट भएको छ ।

यसैबिच शनिबार शारदा नगरपालिका २ लुहापिङमा रहेको सशस्त्र ब्यारेक नजिकै आगलागी भएको प्रहरीले जनाएको छ । यहाँको आगो सदरमुकाम खलंगाबाट गएका स्थानीय, कर्माचारी र सुरक्षाकर्मीले २ घण्टापछि नियन्त्रणमा लिएका थिए ।

जिल्लाभरी यकिन हुन नसकेका यस्ता थुप्रै आगलागी भएका छन् । केहि नियन्त्रणमा आएका छन् भने केहि नियन्त्रणमा लिन मुस्कील भएको प्रहरीले जनाएको छ । अत्याधिक गर्मी, हुरी बतासका कारण जिल्लाका विभिन्न जंगलमा लागेको डढेलो निभाउन गाह्रो भएको प्रहरीले जनाएको छ । सल्यानका अधिकांस वन जंगलहरु सल्लाले भरिएकोले आगलागी हुन सक्ने भन्दै सुरक्षकर्मीहरुले सजक हुन आग्रह गरेका छन् ।

यसैबिच जंगलमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका २ को चन्द्रपाला सामुदायिक वनमा आगो लगाएको आरोपमा त्यही ठाउँका ५१ वर्षीय रामबहादुर ओली पक्राउ परेका हुन् । प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले आगलागी गराउनेलाई कारबाही गरिने बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार