• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

मिडिया काउन्सिल विधेयक रोक्न सभामुखको ध्यानाकर्षण


बैशाख ३०, काठमाडौं ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको छ ।

महासंघको टोलीले सोमबार सभामुख महरालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रताविरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन् । महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत गर्ने व्यवस्था, जरिवानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनी गरिएको व्यवस्था लगायतले प्रेसमाथि अंकुश लगाउन खोजेको बताए ।

काउन्सिललाई पूर्ण रुपमा सरकारको नियन्त्रणमा राख्ने र जरिवाना र क्षतिपूर्ति मनलाग्दी तोक्न सकिने व्यवस्था हटाउनुपर्ने उनले माग गरे । उनले आफूहरुको आन्दोलन सरकार र लोकतन्त्रविरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट पारे ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यस किसिमका व्यवस्था हटाउन सभामुखको ध्यानाकर्षण गराए ।

ज्ञापनपत्र बुझ्दै सभामुख महराले संसद्मा दर्ता मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् । उनले विधेयकमा सञ्चार जगतको सरोकारबारे संसद्, संसदीय समितिमा पर्याप्त छलफल हुनुपर्छ र हुने वातावरण बनाउन सहयोग गर्ने आश्वासन पनि दिए ।

ज्ञापनपत्र बुझाउन सभामुख निवास बालुवाटार पुगेका नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ,जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे लगाएतले विधेयक प्रति आफूहरूको कडा आपत्ती रहेको धारणा राखेका थिए ।

महासंघ सहितको टोलिले आज नै राष्ट्रिय सभाका अध्यक्षलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार