बैशाख ३०, काठमाडौँ ।
एभिन्यूज खबरको ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई समाजवादी नेपालका कार्यकर्ता भन्दै ९८५१००५१८० नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले बताएका छन् ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज खबरले सकस राजनीति कार्यक्रममा आइतबार लिएको अन्तर्वार्तामा प्रश्नको उत्तर नदिई यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए ।
सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा ध्यानमार्ने धम्की दिएको बताइएको छ । साथै एभिन्यूज खबरको वीरगञ्ज कार्यालयमा तोडफोड समेत भएको छ ।
सोमबार दिउँसो कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेर गएका हुन् । वीरगञ्ज वडा नम्बर १३ का वडा अध्यक्ष तुफान अन्सारी को नेतृत्वमा आएका कार्यकर्ताले तोडफोड गरेको एभिन्यूजले जनाएको छ ।
‘हामी काम गरिरहेका थियौं। साढे १२ बजेतिर मुखमा कालो बाँधेका केही मानिसहरू आएर तोडफोड गरे। सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिए,’ एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले भनिन्, ‘उनीहरू को हुन् र किन आएर तोडफोड गरे ।’