• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

ल्हासाबाट काठमाडौं रेल आउँछ : प्रचण्ड


बैशाख ३०, काठमाडौं । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड)ले चीनको ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौं आउने दावी गरेका छन् । उक्त रेललाई लुम्बिनी र पोखरासम्म पुर्‍याउने उनले बताए ।

राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सोमबार बिहान प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै रेल आउने भइनैसकेको छ ।’ ल्हासाबाट काठमाडौं रेल ल्याउने कुरा सुरुमा सपना जस्तो लागे पनि अब त्यो विपनामा परिणत हुन लागेको उनले बताए ।

आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको जानकारी दिँदै प्रचण्डले अहिले त्यो सपना साकार हुन लागेको बताए ।

‘चीन भ्रमणमा जाँदा मैले त्यहाँका राष्ट्रपतिलाई भनेको थिएँ, ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेल लैजाने कुरा । यो सपना साकार पार्न हामीले मिलेर काम गर्नुपर्छ भनेको थिएँ । अहिले मलाई अब यो सपना रहेन । अब त्यो सपना विपनामा साकार हुँदैछ,’ प्रचण्डले भने । ल्हासाबाट रेल नेपाल आएमा पर्यटनको विकासको निम्ति र अर्थतन्त्रको विकासको निम्ति कोशेढुंगा हुने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार