• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानको शारदा नदिमा बन्न लागेको पुल मेयर अधिकारीद्वारा शिलान्यास


बैशाख ३१, सल्यान ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १ र १२ लाई जोड्ने मोटरेवल पुलको शिलान्यास गरिएको छ । भ्याट बाहेक ३ करोड ८० लाख ४५ हजारको लागतमा बन्न लागेको पुलको मंगलबार शारदा नगरप्रमुख सुरेश अधिकारीले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा उपप्रमुख सावित्रा बस्नेत र १२ नम्बर वडाअध्यक्ष तथा नगर प्रवक्ता दिपक हमालको सहभागीता रहेको थियो । उक्त बन्न लागेको पुलको लम्वाई ५० मिटर रहनेछ भने ८.४० मिटर चौडाइ रहने इन्जिनियर भरत बुढाथोकिले बताएका छन् ।

पुलको लागी यो आर्थिक वर्षमा नगरपालिकाले ५० लाख बजेट बिनियोजन गरेको छ । पुल निर्माणको जिम्मा जुद्ध एण्ड पुर्ण जेभी तुलसीपुरले लिएको छ । २०७५ माघ २० गते निर्माण सम्झौता भएको पुल २०७८ जेठ २० गतेभित्र पुरा गरिसक्नुपर्ने छ ।

यो पुल बनेसँगै शारदा नगरपालिकाको श्रीनगरबाट वडा नम्बर १२ र १३ का नागरिकलाई प्रत्यक्ष रुपमा सुविधा हुने उनको भनाई छ । त्यस्तै छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ५, २, १, मोख्ला र रोल्पाको झ्यामसम्म सहज हुने वडा अध्यक्ष हमालले बताए ।

रेशमज्युलाबाट अहिले डाँग्री, काखखोला, तिमीले, लेखटाकुरा हुँदै राप्ती राजमार्गसम्म सडकको ट्याक खोलिएको छ । यो शारदा नदिको किनार हुँदै प्रयोग गरिने राप्ती राजमार्ग भन्दा यो सडक आधा गुणा छोटो हुने अध्यक्ष हमालको दाबी छ । उनका अनुसार करिब १५ किलोमिटर यो सडकको दुरी रहेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार