• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

उपराष्ट्रपतिलाई स्वागत गर्न एक घण्टा हिडेर आएका बालबालिका ४० डिग्रीको गर्मीमा प्याक-प्याक


जेठ १, रौतहट ।
कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरू पानी खोज्दै भौंतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरू कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे ।

कान्तिपुर दैनिकमा खबर छ, उपराष्ट्रपति नन्दबहादुर पुनको स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरूले उनीहरूलाई ल्याएका थिए । कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका विद्यार्थी पनि थिए । कतिपय विद्यार्थीले खाली खुट्टै हिँडेका थिए ।

कटहरिया १ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले नगरपालिकाले विद्यालयका सबै कर्मचारी र छात्रछात्रालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएकाले विद्यार्थीलाई ल्याउनुपरेको बताए । ’बालबालिकालाई बोलाएर न बस्ने ठाउँ दिइयो न खाजा,’ उनले भने, ’चर्को घाममा बच्चाहरू भोकभोकै फर्किनुपरेको छ । यस्तो कार्यक्रममा बच्चाहरूलाई बोलाउनु हुँदैनथ्यो ।’

भषेडवा माविबाट कार्यक्रमस्थल झन्डै ३ किलोमिटर दूरीमा पर्छ । उपराष्ट्रपति पुन आउनुभन्दा एक घण्टाअघि विद्यार्थी कार्यक्रमस्थल पुगिसकेका थिए । कटहरिया नगरपालिकाभित्र २३ वटा विद्यालय छन् ।

नगरपालिकाको शिक्षा शाखाले जानकी जयन्ती समारोहमा सबै संस्थागत तथा सामुदायिक विद्यालयका कर्मचारी र विद्यार्थीलाई आआफ्नो ब्यानरसहित उपस्थित हुन वैशाख २४ गते नै पत्र पठाएको थियो । समारोह नगरपालिकाले आयोजना गरेको हो ।

नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि सरेन्द्र ठाकुरले ठूला कक्षाका विद्यार्थीलाई मात्र बोलाइएको दाबी गरे । ’कार्यक्रममा धेरैजसो ठूला विद्यार्थी नै थिए,’ उनले भने । उपराष्ट्रपति उपस्थित हुने कार्यक्रम भएकाले विद्यालयलाई आउन भनेको उनले बताए । सोमबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । विद्यालय बन्द भए पनि विद्यार्थीलाई पोसाकमै कार्यक्रम ल्याइएको थियो ।

कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाह हुन् । व्यक्ति हत्याको आरोपमा जेल परेका उनी केही महिनाअघि सर्वोच्च अदालतले सफाइ दिएर छुटेपछि हेलिकप्टरबाट गृहजिल्ला आएका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार