जेठ १, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई मातृशोक परेको छ । चन्दकी आमा मनकुमारी शाहको यही वैशाख २७ गते उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको हो । उनी लामो समयदेखि खुट्टा भाँचिएर उपचाररत थिइन् ।
नेतृ चन्द भने प्रहरी हिरासतमै छिन् । उनीमाथि आगजनी र विष्फोटको कसुरमा अनुसन्धानका भन्दै रिहाईपछि पनि पटकपटक गिरफ्तार गरी प्रहरीेले विभिन्न जिल्ला घुमारहेको छन् ।
फागुन ११ गते गिरफ्तार उनी अछामबाट जिल्ला अदालतको आदेशमा फागुन २९ मा धरौटीमा रिहा भएलगत्तै पुनः गिरफ्तार भई बाँकेको कोहलपुर पुर्याइएकी थिइन् । त्यहाँ अगजनीको कसुरमा मुद्दा चलाइएको थियो । त्यहाँबाट उनलाई साधारण तारेखमा रिहा गरियो तर पुनः गिरफ्तार गरी बर्दिया पुर्याइयो । त्यहाँ बाँसगढीस्थित प्रहरी हिरासतमा राखियो । त्यहाँबाट पनि रिहा गरियो तर पुनः गिरफ्तार गरी कैलालै पुर्याइयो । हाल नेतृ चन्द कैलालीको टिकापुरस्थित प्रहरी हिरासतमा छिन् ।
त्यहाँबाट रिहाइपछि गृह जिल्ला सल्यान लिने प्रहरीको तयारी छ । सुरुमा उनलाई पार्टीले माघ १ बाट शुुरु गरेको दुई महिने ‘संगठन विस्तार तथा सुदृढिकीकरण अभियान–२’को बेला अछामको विनायकस्थित पुल्लेतोलाबाट फागुन ११ गते प्रहरीले गिरफ्तार गरेको थियो । त्यसअघि पनि उनी काठमाडौंबाट संघर्षका क्रममा पटकपटक गिरफ्तार पर्दै छुट्दै आएकी थिइन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मङ्गलबार पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका छन् । रोल्पाको सहिद शुनिल स्मृति गाउँपालिका घोडागाउँ निवासी शाहको निधनले आफ्नो पार्टी मर्माहत भएको भन्दै महासचिव विप्लवले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।