जेठ १, सल्यान ।
सल्यानमा अब प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पहिलेको भन्दा माथिल्लो पोस्टका आउने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ ।
धेरै जनसंख्या भएको भन्दै सरकारले सल्यान सहित १९ जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । नयाँ पत्रिकालाई आधार मान्ने हो भने सल्यान सहित पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरामा सिडियो र प्रहरी प्रमुखको दरबन्दी स्तरोन्नति हुनेछ ।
हाल यी जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी प्रमुखमा रहेका छन् । सल्यानमा पनि सिडियोमा उपसचिव चुडाराव न्यौपाने छन् भने प्रहरी प्रमुखमा डिएसपी बिरेन्द्र बहादुर शाही छन् ।
नयाँ पत्रिकाका अनुसार १९ सहसचिवको दरबन्दी स्वीकृत भएपछि प्रहरीबाट एसपीलाई खटाउने गृहको तयारी छ । साबिकमा र हाल दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लामा सहसचिव र एसपीलाई खटाउन लागिएको गृहका सहसचिव केदारनाथ शर्माले बताए । विगतमा तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्र सहसचिव र एसपी खटाउने निर्णय भएको थियो ।