• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

‘मैले एमालेका नेतालाई लाइन लाएर प्रधानमन्त्री बनाए, अहिले टेन्सनमा छु’– प्रचण्ड


जेठ १, काठमाडौं ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।

 

तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसको प्रमुख अतिथी बन्ने मौका पाएका प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरे । मन्च र दर्शकदीर्घामा पूर्वएमाले समर्थित नेता कार्यकर्ताको खचाखच भीडलाई सम्बोधन गर्दै उनले आफू समय अनुसार चल्ने नेता भएको समेत प्रष्ट पारे ।

 

उनले आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन तत्कालिन एमालेका नेता कार्यकर्तालाई आह्वान गरे । आफ्नो निवासमा चिनियाँ राजदूतलाई पर्खाएको भन्दै कार्यक्रममा निकै हतारमा रहेका प्रचण्डले आफू टेन्सनमा रहेको पनि बताए ।

 

प्रचण्डले भने, ‘मैले ४ बजे राजदूतसँग भेटघाटका लागि समय तय भएको थियो तर म त्यहाँ त्यो समयमा जान सकिनँ त्यही भएर म अलि टेन्सनमा छु,’

 

नेकपाका धेरे नेताहरु बोलेपछि अन्तिममा बोलेका अध्यक्ष प्रचण्डले यसअघि आफ्नै नेताहरुले एकता प्रकृया, सरकारका कामकारवाही र कम्युनिष्ट नेताहरुको आचरणबारे उठाइएका प्रश्नहरुप्रति सहमत रहेको बताए ।

 

उनले पार्टी एकता नेतृत्वको ठोस पहलकै कारण सम्भव भएको भन्दै नेतृत्वले हिम्मत नगरेको भए अहिले कम्युनिष्ट नेतृत्वको सरकार नबन्ने बताए ।

 

उनले तथाकथित राजनीतिका नाममा दम्भ गर्ने धार रहेको भन्ने भन्दै दक्षिणपन्थी जडता र बामपन्थी जडताले कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने गरेकाले यी दुवै प्रवृति घातक हुने बताए ।

 

‘हामीले पार्टी एकता गर्यौँ । एकता ऐतिहासिक पहल थियो । राजनीतिक संगठन र आन्दोलनको पृष्ठभूमिसहित एकता भएको हो । हामीले राष्ट्रको आवाश्यक्ता, कम्युनिष्ट आन्दोलन र जनताको भावनालाई सम्मान गर्यौ । एकताका लागि कसै न कसैले पहल गर्नेपर्छ इतिहासमा । नेतृत्वको ठोस पहल कदमीबाटै ठूल्ठूला परिवर्तन भएका छन्’ प्रचण्डले एकताप्रति असन्तुष्टि जनाएका नेताहरुप्रति लक्षित गर्दै भने, ‘पार्टी एकता निरन्तरताको क्रमभङ्गता हो ।’

 

उनले  कम्युनिष्ट आन्दोलन र युवाबीचमा विशिष्ट सम्बन्ध रहेको भन्दै कम्युनिष्ट संगठन भनेको भविष्यको संगठन, समाजवाद र साम्यवाद भविष्यको संगठन भएको बताए ।

 

उनले माओत्सेतुङले भन्ने गरेको ‘संसार हाम्रो हो तपाईंहरुको पनि हो । तर, अन्तिममा तपाइहरुकै हो’ स्मरण गर्दै त्यही सोचअनुसार अघि बढ्नुपर्ने बताए । उनले काम गर्दै जाँदा केही गल्ती भएपनि त्यसलाई सच्चाउन सक्नुपर्ने बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार