• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

बैद्य र चित्र बहादुरको आक्रोशः ‘सरकारको मुखमा लोकतन्त्र, काम अधिनायकबाद’


जेठ ४, काठमाडौं ।
सरकारले हालै ल्याएको मिडिया काउन्सिल बिधेयकबारे नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरण र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिरोध प्रकट गरेका छन् ।

शनिवार ५ वटा पत्रकार संगठनकोे संयुक्त पत्रकार संघर्ष समितिले गरेको कार्यक्रममा उनीहरुले सरकारले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताको मर्म्विपरित विधेयक ल्याएको बताए । उनीहरुले सरकारलाई बिधेयक फिर्ता लिन माग गर्दै पत्रकार संस्थाहरुलाई सरकारले घुँडा नटेकेसम्म आन्दोलन जारी राख्न पनि आग्रह गरे ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले सरकार फाँसीबादी बाटोमा लागेको आरोप लगाउदै हिजो हिटलर र मुसोलिनीहरुले पनि मुखले समाजवाद भन्ने तर व्यवहार उल्टो गरेझै अहिलेको सरकार पनि त्यही बाटोमा हिँड्न खोजेको दाबी गरे । उनले फाँसीवादको देखिने कुनै सिङ्ग जुरो नहुने भन्दै सत्तारुढ दल र सरकारले अहिले त्यही बाटो तय गरेको देखिएको उनको जिकिर थियोे ।

किरणले भने ‘उहाँहरुले त्यो विधेययक नबुझेर पो ल्याएको हो कि ? सत्तामा पुगेपछि बुझ्ने क्षमता घट्दो रहेछ । उहाँहरुले त पञ्चायती व्यवस्थादेखि नै संघर्ष गरेर आउनुभएको हो नी । उहाँहरुले बुझेरै विधेयक ल्याएको भए फाँसीवादतर्फ उद्धत हुनुहुन्छ ।’

वैद्यले जनताका हक अधिकार संसदबाट पुरा हँदैन भन्ने आफ्नो पार्टीको आस्था रहेको बताउँदै संविधानसभाबाट संविधान बनाउने क्रममा ठूला भनिएका नेता बाहेक अन्य सभासदहरुको कुनै भूमिका नरहेको उनले बताए । संविधानमा असन्तुष्टि रहेका विषयमा कुरा गर्न समय माग्दा पनि आफ्नो दललाई समय नदिएको उनले बताए ।

मुखले लोकतन्त्र भनेपनि अधिनायकबादको बाटोमा सरकार अघि बढेको बताउँदै उनले ५ प्रतिमाथि ९५ प्रतिशतले अधिनायकबाद लगाउने भन्ने कम्युनिष्टको सिद्धान्त भएपनि अहिले ५ प्रतिशतले ९५ प्रतिशतमाथि अधिनायकबाद लगाउने काम गरिरहेको उल्लेख गरे । उनले मिडिया काउन्सिल विधेयकबारे बोल्दै यो विषय प्रेस स्वतन्त्रताको कुरा मात्रै नभएर नागरिक अधिकार र अभिब्यक्ति स्वतन्त्रताको पनि विषय भएको बताए । उनले सरकारले यसलाई तुरुन्त फिर्ता लिनुपर्ने धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले फ्रान्सेली शासकको ‘मलाई ४ हजार सिपाईभन्दा दुईवटा प्रेससँग डर लाग्छ’ भन्ने भनाई स्मरण गर्दै यो सरकार पनि त्यसैगरी प्रेससँग डराएको बताए ।

उनले गाँउघरमा चलनमा रहेको उखान ‘मर्न लागेपछि भैँसीले भीर खोज्छ’ भनेजस्तै यो सरकारले आफैलाई घात हुनेगरी प्रेसबिरोधी कानुन ल्याउन लागेको बताए । उनले नेपाली प्रेसले २०४६ सालको आन्दोलन तथा २०६२÷०६४ सालको आन्दोलनमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताउँदै सरकारले ल्याएको विधेयक लोकतन्त्र बिरोधी रहेको बताए ।

उनले भने–‘सत्ता बाहिर छँदा मिडिया पनि चाहिने हुन्छ, सत्तामा गएपछि उसलाई मिडिया मनपर्दैन, सत्ताको माया लाग्छ । अनि प्रेसलाई अंकुश लगाउन खोज्छन् । हाम्रो पार्टीले त निर्णय गरेर नै सो विधेयक संशोधन मात्रै होइन फिर्ता नै लिनुपर्छ भन्ने विधिवत निर्णय गरेर वक्तव्य नै सार्वजनिक गरेको छ ।’

उनले अहिले सत्तामा बस्नेहरुले हिजो जेल परेका बेला, आन्दोलनको बेला मिडियाले गरेको सहयोग गरेको बिर्सिएको उल्लेख गरे । उनले भने–‘सत्तामा गएपछि अजम्बरी बुटी खाएजस्तो गर्नुभयो, भोलि पत्रकार चाहिँदैन भनेजस्तो गरे । सत्ताको स्वादको मात लाग्यो उहाँहरुलाई । मिडिया काउन्सिलको अध्यक्ष सञ्चार मन्त्रालयलको सह सचिवले नियुक्त गर्ने भन्ने कुरा पनि हुन्छ ?’

 

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार