• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

पुर्व माओवादीका मजदुर संगठनले एमालेसँगको एकता बहिस्कार गरे


जेठ ६, काठमाडौं ।
मजदुर संगठन एकता प्रक्रियालाई लिएर पुर्व माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले आपत्ति जनाएको छ । महासंघका पधाधिकारीले आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एकता प्रक्रियामा नमान्ने बताएका हुन् ।

आजको अन्नपूर्णमा खबर छ, अखिल नेपाल ट्रेड युनियन महासंघकै अर्को समूहले एकता प्रक्रिया स्वागतयोग्य भएको भन्दै वक्तव्य जारी गरिसकेको छ ।  एमाले र माओवादी निकट–निकट ट्रेड युनियनको एकता अवैधानिक भएको भन्दै माओवादी निकट ट्रेड युनियनका पदाधिकारीको यो समुहले आपत्ति जनाएको हो ।

पार्टीका दुबै अध्यक्षलाई बुझाइएको ज्ञापनपत्रमा महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष धनबहादुर बिक लगायतका पधाधिकारीले हस्ताक्षर गरेका छन् ।

“पार्टीको नीति र निर्णय अनुसार दुई संघठनका अध्यक्ष नै पहिलो र दोस्रो हुने भन्ने थियो । तर, उक्त नीति विपरित ट्रेड युनियनको एकता भयो” अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष रेग्मीले भने, “त्याग, योगदान, निरन्तरता , ज्ञान, अनुभव त कता हो कता निर्णय गर्नु अगाडि थोरै पनि छलफलको भएन, यस निर्णयले आगामी एकता प्रक्रिया सहज हुने देखिदैन ।”

नेकपा सचिवालयले जेठ ३ मा जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाउँदै मजदुरको नेतृत्वमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलाई संयोजक र सहसंयोजकमा माओवादी निकट मजदुर संगठन (अन्टुफ)का महासचिव जगत सिम्खडालाई चयन गरेको थियो । अन्टुफमा रेग्मी र सिम्खडाको अलगअलग समूह छ ।

सिम्खडा नेतृत्वमा पुगेपछि रेग्मीले केही पदाधिकारीलाई साथ लिएर एकता प्रक्रिया नमान्ने भन्दै नेतृत्वलाई ज्ञापनपत्र बुझाएका हुन् । विधिवत रुपमा एकता प्रक्रिया टुंगो नलागेसम्म अखिल नेपाल ट्रेड युनियन महासंघ वैधानिक रुपमा रहिरहने समेत अध्यक्ष रेग्मीले अन्नपूर्णलाई जानकारी दिए।

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते सोमवार