• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सत्तारुढ नेकपा सल्यानले मन्त्री प्रकाश ज्वालाको कार्यक्रम बहिस्कार गर्याे


जेठ ६, सल्यान । नेकपा सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले राखेको कार्यक्रम बहिस्कार गरेको बताएका छन् । कर्णाली प्रदेशका लागि आर्थिक बर्ष २०७६/०७७ को पूर्व बजेटमा शनिबार सल्यान खलंगामा भएको छलफल तथा सुझाव संकलन कार्यक्रमलाई नेकपा सल्यानका स्थानीय तहका प्रमुखहरुले बहिस्कार गरेको उनले बताए ।

 

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानिय आवश्यकता, चाहान र प्राथमिकतालाई कसरी बजेटमा समेट्न सकिन्छ भन्ने उदेश्यले खलंगामा कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा आफुहरुलाई पत्र पठाएर बोलाएपनि नेकपा सल्यानले बहिस्कार गरेको नेता पुनले बताए ।

 

बनगाड कुपिण्डेका मेयर समेत रहेका पुनले अर्थ मन्त्री ज्वालाले सल्यानमा बजेट दिदा जहिले पनि स्थानीय सरकारका प्रमुखहरु सँग समन्वय नगरेर बजेट बिनियोजन गरेको भन्दै पहिलो चेतावनी स्वरुप कार्यक्रम बहिस्कार गरेको बताए । लेकाली अनलाइनमा फोन गर्दै मेयर पुनले भने, “कार्यक्रम सम्पन्न भयो भनेर समाचार आएको सुनियो । तर त्यो कार्यक्रम सम्पन्न भएको हैन्, बहिस्कार भएको हो ।”

 

मन्त्री ज्वालाले आफुहरु स्थानीय तहका प्रमुख हुँदा पनि वास्ता नगरेर सिधै वडा अध्यक्ष वा उपभोक्ता गठन गरेर तिनीहरु मार्फत बजेट दिएको भन्दै मेयर पुनले अर्थमन्त्रालयले सल्यानमा कार्यक्रम गर्नुको कुनै अर्थ नभएको टिप्पनी गरे । उनले भने, “मन्त्री ज्यू कार्यशैली देखि हामी नेकपा सल्यानका सबै स्थानीय सरकारका प्रमुखहरु रुष्ट छौं, त्यसैले स्थानीय सरकारका प्रमुखहरुले छलफल गरेरै कार्यक्रम बहिस्कार गरेका हौँ । अबदेखि उहाँलाई स्थानीय सरकार प्रमुख संग समन्वय गर्न पनि आग्रह गर्दछौँ ।”

 

शनिबार भएको कार्यक्रम जिल्ला समन्वय समितीको सभाहलमा भएको थियो । कार्यक्रममा केहि स्थानीय तहका प्रमुखहरुमा उपस्थिती भएको समन्वय समितीका प्रमुख केश बहादुर विष्टले बताए । तर केहि नेकपा सल्यानका स्थानीय तहका उपप्रमुखहरुको पनि कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रममा मन्त्री ज्वालाले विकास निर्माणका कामहरुमा राजनिति नगर्न आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते सोमवार