• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यान दार्माका नागरिक खानेपानी नहुँदा बसाई सर्न बाध्य


जेठ ६, सल्यान ।
सल्यानको दार्मा ५ ढाकाडाममा रहेको पोखराटोलका बासिन्दा पिउने पानीका कारण वसाई सर्न बाध्य भएका छन् । विगतमा पानी प्रयोग गर्दै आएको मुहान सुकेपछि स्थानियलाई पानीको समस्या भएको हो ।

सो क्षेत्रका करिव ३५ घरलाई पिउने पानीको अत्यन्तै समस्या रहेको स्थानियको भनाई छ । पानीको समस्याका कारण केहि स्थानिय वसाई सरिसकेका छन भने केहि सर्ने तयारीमा रहेका छन् ।

पिउने पानीको जोहो गर्नका लागि करिव ३/४ घण्टा हिडेर लाईनमा वस्नुपर्ने स्थानियहरुको भनाई छ । यहाँका स्थानियले हिउँद र खडेरीको समयमा वर्षौदेखि यस्तै समस्या भोग्दै आएका छन् ।

निर्वाचनका बेला भोट माग्ने क्रममा नेताहरुले पानीको समस्या समाधन गर्छु भनि दिएको आस्वासन पनि पुरा नगरेको स्थानीय महेश हमालको गुनासो छ । उनि भन्छन, “निर्वाचनको बेला पानी ल्याइदिन्छाौं भनेर नेताहरुले आस देखाए सवै मिलेर भोट हाल्यौँ तर अहिले पानीको समस्या उस्तैछ ।”

पानीको अभावका कारण धेरै मानिसहरु वर्षेनी वसाई सरी रहेको उनको भनाई छ । महेश भन्छन, “पानीको कारण गाउँका धेरै मान्छेहरु वसाई सरिसके, पानीको अत्यन्तै समस्या भएपछि म पनि सर्ने तयारीमा छु, के गर्नु यो हाम्रो वाध्यता हो, पानीको लागि तीन घण्टा लाइन वस्नु पर्छ ।”

यता वडा नं–५ का वडा अध्यक्ष राम बहादुर के.सीले पनि सो क्षेत्रमा पानीको समस्या रहेको स्वीकार गरेका छन् । उनले पनि सो क्षेत्रको पानीको समस्या समाधानको लागि काम गर्ने वताए । उनले भने, “कुनै आर्थिक श्रोत जुटेमा यो वर्ष नभए पनि अर्को आर्थिक वर्ष वजेट विनियोजन गरेर समस्या समाधान गर्छु ।”

सोही वडाको बागखोर, तिनपोखरे, थर्पुटाकुरी, डाँडागाउँ, बाहुनटोल, पोखरा हुँदै कोटको माथिल्लो बास्ती सम्म फैलिएको सो पानी अहिले सबै छेतबिछेत भएर हराईरहेको छ । समस्या समाधान गरिदिन सम्बन्धीत पक्षलाई स्थानियले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते सोमवार