• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

पाँचथर हत्याकाण्डः शंका गरिएका व्यक्तीको आत्महत्या, नुनमा सिसाको धुलो !


जेठ ७, पाँचथर ।
पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन् । उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो। बेमेल भएपछि श्रीमती माइत बस्दै आएकी थिइन् ।

प्रदेश १ प्रहरी प्रमुख डिआईजी केदार रिजालका अनुसार घटनाको प्रकृतिका आधारमा शङ्का गरिएका व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन् । घटनास्थलमा कुनै हतियार फेला परेको छैन ।

घटनास्थल मिक्लाजुङ ३ आरुबोटेभन्दा केही टाढा रहेको वडा ७ लिम्बा भन्ने स्थानको एक रुखमा मानबहादुर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

९ जनाको हत्या 

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर तलमाथी छ ।

धारिलो हतियारले पालैपालो सबैको हत्या

घटनाबाट १२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन् । सामान्य घाइते उनलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ । उनले कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरेको प्रहरीलाई जानकारी दिएकी छन् ।

घटनापछि गाउँका सबै डराएका छन्

बिहान ६ बजे खबर पाउनेवित्तिकै इन्सपेक्टर र म घटनास्थलमा पुगेको थिएँ । त्यहाँको दृश्य विभत्स थियो । शवहरु काटिएको अवस्थामा फेला परेको थियो । घटना मध्यरातमा भएको रहेछ । तर बिहानपख मात्रै थाहा पाइयो ।

इलाका प्रहरी कार्यालय रवि र दशमी चौकीको टोली सुरुमा घटनास्थलमा पुगेको थियो । त्यहाँ माथिल्लो घर ज्वाईंको र तल्लो घर ससुराको छ । ज्वाईंको घरमा पाँच जनाको हत्या भएको छ, ससुराको घरमा चार जनाको हत्या भएको छ । यी दुई घरको दुरी करिब २ किलोमिटर छ । दुवै परिवारको आर्थिक अवस्था मध्यम खालको छ ।

यो घटनाले सबै त्रसित छन् । छिमेकीसँग पनि सोध्न सक्ने अवस्था छैन । हत्याको कारण के हो भन्ने खुलेको छैन । प्रहरी प्रशासनले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ । रिसइबीको कारण हो कि के हो पछि पत्ता लाग्ला ।

नुनमा सिसाको धुलो

हत्या गरिएका धनबहादुर शेर्माको घरमा केही दिनअघि पनि अर्को घटना पनि घटेको पाइएको छ । मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राईका अनुसार धनराज शेर्माको घरमा ४ दिनअघि मात्र अर्को रहस्यपूर्ण घटना घटेको थियो ।

राईका अनुसार गाउँमा धनराज शेर्मा सानो पसल सञ्चालन गर्दै आएका थिए । केही दिन अघि प्रशिक्षण दिनका लागि साना घरेलु विकास कार्यालयबाट एक टोली गाउँमा आएका थिए । सो क्रममा उनीहरु धनराजको घरमा बसेका थिए ।

उनीहरुका लागि बनाइएको खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो हालेको पाइएको थियो । जसले गर्दा टोलीका सदस्यहरु नै बिरामी परेका थिए । उपाध्यक्ष राईले भनिन्, ‘त्यो खाना खाएर केही मान्छे बिरामी परेका थिए । त्यसको ४ दिनपछि अहिले परिवारैको हत्या भएको छ । घटना रहस्मय छ ।’

 

खानामा कसले सिसाको धुलो भएको नुन हालेको भन्ने विषयमा अनुसन्धान भइरहँदा ४ दिनपछि यस्तो घटना घट्नुले धेरै प्रश्नहरु उब्जाएको वडाध्यक्ष राईले बताइन् । खाना बनाउँदा त्यतिबेला कसले सिसा भएको नुन हाल्यो भन्ने पनि अहिलेसम्म कुरा खुलेको छैन ।

घटनाको अनुसन्धान

घटना भएका दुवै घर सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ । आफूसहितको टोली पनि घटनास्थलतर्फ गइरहेको उनले बताए। घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ ।

हत्या प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ । घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि आउँदैछ । प्रहरीेले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाएको छ । डीएसपी न्यौपानेका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार