• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा १० महिनाको अबधिमा ८४ वटा सवारी दुर्घटना, १५ जनाको मृत्यु


जेठ ७, सल्यान ।
सल्यानमा यो आर्थिक बर्षको १० महिनाको अबधिमा ८४ वटा सवारी साधन दुर्घटना भएका छन् । २०७५ साउन महिनादेखि २०७६ बैशाख मसान्तसम्म ८४ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटना हुनेमा सबैभन्दा धेरै मोटरसाईकल रहेका छन् । प्रहरीका अनुसार १० महिनामा ४० ओटा मोटरसाईकल मात्रै दुर्घटना भएका छन् । सबैभन्दा धेरै बैशाख महिनामा ८ वटा मोटरसाईकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले लेकाली अनलाइनलाई बताए ।

उनका अनुसार दोस्रोमा जिप दुर्घटना बढी भएका छन् । १० महिनामा मात्रै १७ वटा जिप दुर्घटना भएको उनले बताए । बैशाखमा मात्रै ४ ओटा जिप दुर्घटना भएका छन् ।

त्यसैगरी १० महिनाकै अबधीमा ट्याक्टर ११, बस ९ र ट्रक ५ वटा दुर्घटना भएको उनले बताए । ट्राफिक कार्यालयको लिस्ट हेर्दा सबैभन्दा धेरै पौष महिनामा १६ वटा सवारी दुर्घटना भएका छन् भने सबैभन्दा कम असोजमा ३ वटा भएका छन् ।

यी दुर्घटनाबाट  अहिलेसम्म १५ जनाको मृत्यु भैसकेको ट्राफिक प्रमुख शर्माले बताए । जसमा १० जना पुरुष, ४ महिला र नाबालक रहेका छन् । दुर्घटनामा परि १७ जना गम्भीर र १ सय ३० जना सामान्य घाईते भएको उनले बताए ।

के गरिरहेको छ ट्राफिक प्रहरी

यसरी हुने दुर्घटनालाई कम गर्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले केहि सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । सामुदायीक साझेदारी अन्तरगत विभिन्न कार्यक्रम गरेको प्रमुख शर्माले बताए । उनकाअनुसार प्रहरीले अहिलेसम्म ४ वटा सामान्य खालको कार्यक्रम भएका छन् ।

जसअनुसार महिनामा ४ पटक प्रत्यक स्कुलमा गएर सवारी दुर्घटना सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको उनले बताए । त्यसैगरी श्रीनगरमा २ र कपुरकोटमा एकपटक सवारी चालकका आँखा चेक गरिएको समेत उनले बताए । आँखा चेक फेरी पनि गर्न सकिने उनको भनाई छ ।

त्यस्तै बागचौर नगरपालिकामा दुर्घटना न्युनिकरण सम्बन्धी सचेतनामुलक बोर्ड र अटो चालकहरुलाई ज्याकेट लगाउने अभियान गरिएको उनले बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार