• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यान ‘दार्मा गाउँपालिका अध्यक्ष’लाई सुझाव !


  • राजेश केसी ‘आगमन’

विकास र नेतृत्वको हिसाबले समृद्धिको अपार सम्भावना बोकेको स्थानीय तह हो  सल्यानको दार्मा गाउपालिका । यसको नेतृत्व समालेका अध्यक्ष निम बहादुर केसी अरुण जनताको नजरमा आफैमा अनुभवी र बौद्धिक रुपमा  हेर्ने गरिन्छ । नेतृत्व सहि हुदाँ हुँदै पनि दार्मा गाउपालिकामा हुने हरेक गतिविधिहरुलाई लिएर पटक पटक सामाजिक संजालमा चर्को बिरोध भईरहेको हुन्छ ।

पटक पटक यसो किन हुन्छ नेतृत्व समाल्नु भएको अध्यक्ष यसप्रति गम्भीर भएर सोच्न जरुरी छ । गलत प्रवृती र सोच भएका, आफ्नो पद र शक्तिको दुरुपयोग गर्ने चाहे जनप्रतिनिधि नै किन नहुन, चाहे कर्मचारीतन्त्र या अरु जो कोहि ?

समृद्ध दार्मा निर्माणको अभियानका बाधक सबैलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । प्रतिपक्ष र युवाहरुको आवाज सुन्न नेतृत्व तयार हुन जरुरी छ । हामी लोकतन्त्रमा अनुयायी हौ । लोकतन्त्रको अभ्यास गरिरहेका छौँ ।

लोकतन्त्रमा बहुमतको शासन र अल्पमतको कदर हुन्छ । जनता प्रती सरकार उत्तरदायित्व हुन्छ । जनमतको कदर हुन्छ । प्रतिपक्षलाई मिलाएर विकास निर्माणमा हातेमालो गर्न जरुरी छ ।

प्रतिपक्ष पनि सामाजिक संजालमा बिरोध मात्र हैन विकास र समृद्धिको रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । सामाजिक संजालको सहि सदुपयोग गर्नु हामी सबैलाई आवश्यक ठानेको छु ।

गाउपालिकाको अध्यक्ष सँग जोडिएको विषय त पक्कै हुन नराम्रो कामको खवरदार नेतृत्व बाटै समाधान हुनुपर्छ । समृद्ध, सुन्दर दार्मा अभियान तपाईको नेतृत्व बाट जनताले अपेक्षा गरिरहेका छ्न । मेरो अपेक्षा पनि त्यही हो समृद्ध दार्माको सपना मेरो सन्ततिले अर्थात  हामी पछिको अर्को नयाँ पुस्ताले फेरि त्यही समृद्ध दार्माको  सपना देखिरहन नपरोस् । यसलाई विपनामा साकार परियोस् ।

तर गाउपालिकामा भईरहेका निर्णय र कर्मचारी नियुक्तिमा हुने राजनीति चलखेल, कर्मचारीतन्त्र, राजनीति गतिविधिमा संलग्न, वडा अध्यक्ष ज्युहरुको विकास निर्माणका हरेक गतिविधिहरु केलाएर हेर्दा म कत्ती पनि आशावादी छैन् । निराशा को दियो बलेको छ, आशाको किरण निभेको छ ।

म एकचोटि तपाईलाई स्मरण गराउन चाहन्छु । राष्ट्रिय मा.वि.दार्माकोटमा लेखापालमा खुलम खुल्ला तत्कालीन एमाले नेताकी बुहारीलाई नियुक्त गरियो । सबै परिक्षार्थी परिक्षामा सहभागी हुन पाएनन् । गाउपालिकामा अ.हे.व नियुक्त गर्दा तत्कालीन माओवादी नेताका छोरा नियुक्त भए । उनी संगै परिक्षामा सामेल भएका परिक्षार्थि लोकसेवामा योग्य भए तर गाउपालिकाको परिक्षामा अयोग्य ठहरिए ।

अ.न.मि मा पनि जनप्रतिनिधि कै आफन्त नै नियुक्त भईन । कृषि प्राविधिक पदमा समेत त्यस्तै भएको सर्वविधितै छ । अनि सर्वसाधारण गरिब जनताका छोराछोरी  योग्यता र क्षमता भएका तर पहुँच नभएका चाहिँ टुलुटुलु हेरेर बस्नु भन्दा अर्को के विकल्प रह्यो र आखिर अन्तिम विकल्प कि बिदेश कि लोकसेवा भयो ।

ज्वलन्त घटना पनि स्मरण गराउन चाहन्छु,

हालै स्वास्थय ईकाई दार्मा गाउपालिका वडा नम्बर २ झ्यारिबाङमा आवश्यक कर्मचारी नियुक्ति गर्दा बिज्ञापन सबैलाई जानकारी हुनु पर्ने तर त्यो भएन । साथै संविधानले प्रत्याभूत गरेको सुचनाको हकको समेत उल्लंघन भएको महसुस आम दर्माली जनताहरुले गरिरहेका छन् ।

यसै विज्ञापनमा अहेव, अनमि पदमा राजनितिक चलखेल भएको र सत्य तथ्य  बास्तविक्ताको माग गर्दै प्रतिपक्षी दलका नेता लगायत अन्य युवा अभियान्ताहरुको सामाजिक संजालमा चर्को बिरोध गरेका छन् ।

यसै बिषयलाई लिएर सामाजिक संजालमा दार्मा गाउपालिकाका केही कर्मचारी जो परिक्षा समितिमा समेत  बसेकाहरुको अमर्यादित, असभ्य र राजनितिक आस्थाका आधारमा अभ्रद प्रतिक्रिया दिईरहेको देख्दा तपाईले भनेको कुरा सम्झाउदै सामाजिक संजालमा सबै मर्यदित र सभ्य हुने बताउनु भएको थियो । गाउपालिका कै कर्मचारीहरु बाट यसो नहुदा यस प्रती तपाई गम्भीर हुनुहुनेछ भन्ने बिश्वास लिएको छु ।

अर्को घटनाको पनि स्मरण गराउन चाहन्छु,

तपाईंहरु बाट नै सस्तो लोकप्रियताका लागि गरिएको गाउपालिकाको निर्णय जनप्रतिनिधीका छोराछोरी सरकारी विद्यालय पढाउनु पर्ने निर्णयको उल्लघन जनप्रतिनिधिहरु बाटै उल्ल्घन भईरहेको छ । यो किमार्थ सत्य हो । यो निर्णयको कार्यन्वयन कहाँ सम्म पुग्यो या निर्णय खारेज गरिएको हो ?

निर्णय कार्यन्वयन भए जस्तो लाग्दैन । निर्णय सस्तो लोकप्रियता मात्र भएको महसुस आम जनताहरुले गरिरहेका छन् । जसले नेतृत्व माथि प्रश्न चिन्ह खडा गरेको छ । यसप्रति गम्भीर हुन विशेष आग्रह गर्दछु ।

निर्णय उल्लंघन भएको प्रमाण आवश्यक परेमा प्रमाण समेत उपलब्ध गराउन तयार रहेको छु । एकचोटि आत्मसमिक्षा गरौ तपाईंले लिएको र दर्माली जनताले देखेको समृद्ध, सुन्दर दार्माको सपनाका बाधक तत्व कतै शासन सत्ताको बागडोर समालेको तपाईं जनप्रतिनिधिहरु आफै त कतै हैन । एकचोटि दृढ भएर सोचौ अनि बितेको २ बर्षको स्मरण गरौ र आगामी दिनहरु यस्ता गल्तिहरु पुन नदोर्होयाउने अठोट गरौ ।

सकल्प सुन्दर दार्मा (अठोट परिवर्तन)

प्रकाशित मिती २०७६ जेठ ७ गते 

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार