• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

पाँचथर हत्याकाण्डः स्थानीय भन्छन् ‘प्रहरीले लापरबाही गर्याे’


जेठ ८, पाँचथर ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको घटनामा प्रहरीले लापरबाही गरेको स्थानीयले आरोप लगाएका छन् । हत्या हुनुका पछाडि केही दिनअघि भएको घटनामा प्रहरीको लापरबाही पनि कारक रहेको स्थानीयबासीले आरोप लगाएका छन् ।

नकाब लगाएका व्यक्तिले सोमबार राति सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या गरेका हुन् । प्रहरीले प्रत्यक्षदर्शीलाई उधृत गर्दै नवैजनाको एकजनाले हत्या गरेको बताए पनि हत्यारा को हुन् र उनले किन ९ जनाको सामूहिक संहार गरे भन्नेबारे केही पहिचान गर्न सकेको छैन ।

बमबहादुरको घरका चार जना र उनका ज्वाइँ धनराज शेर्माको घरका पाँच जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । हत्या भएकामा बमबहादुर सहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम छन् ।

यस्तै धनराज सहित पत्नी जस्मिता फियाक (शेर्मा), छोरीहरू युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको छ । बमबहादुरकै अर्की नातिनी सीता खजुमले भागेर ज्यान जोगाएकी छन् । उनको झापामा उपचार भइरहेको छ।

दुई परिवार नै सखाप हुने गरी घटाइएको आरुबोटे हत्याकाण्डका पछाडि पाँचथर प्रहरीको गम्भीर लापरबाही कारक रहेको स्थानीय बताउँछन् । सत्य तथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

गत बैशाख ३० गते धनराजको घरको नुनको बट्टामा सिसाका टुक्रा मिसाई दिएपछि खाना र चाउचाउ पकाएर खाँदा ८ जना गंम्भीर बिरामी भएका थिए । घरमा रहेको नुनको बट्टामा शिशा मिसाइएको घटनामा धनराजको परिवारले आत्महत्या गरेका बमबहादुरका कान्छा ज्वाई मानबहादुर माखिम, मिक्लाजुङकै चन्द्र कुरुङबाङ र सुनिल फियाकविरुद्ध प्रहरी चौकी दशमीमा जाहेरी दिइएको थियो ।

तर प्रहरीले उक्त जाहेरीउपर कारबाही नगर्दा सोमबार आरुबोटेमा ९ जनाको हत्या भएको स्थानीय प्रेमकुमार फियाकले आरोप लगाए । धनराजको घरको नुनको बट्टामा शिशा मिसाइदिएको घटना बाहिर आएपछि मानबहादुरले रिसिइवीका कारण गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय रवीमा समेत जाहेरी दिँदा समेत प्रहरीले कारबाही अघि नबढाएको उनको भनाई छ ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हस्तराज फियाकले पनि प्रहरीले मानबहादुर लगायत तीनजना आरोपित विरुद्ध जाहेरी दर्ता नगरेको र अनुसन्धान अगाडि नबढाएका कारण रिसिइवी साँध्न बमबहादुर र धनराजको परिवारको हत्या गरिएको शंका गरे ।

प्रहरीले धनराजको घरमा भएको शिशा मिसाएको नुनको बट्टा बरामद गरे पनि यस विषयमा थप अनुसन्धान अगाडि नबढाएका कारण आरुवोटे हत्याकाण्ड घटेको अर्का स्थानीयबासी मिसेक फियाकले बताए ।

सिसा मिसाइएको घटनामा प्रहरी चौकी र खान्द्रुङ प्रहरी चौकीका प्रहरी प्रमुखको गम्भीर लापरबाहीका कारण घटेको वडाध्यक्ष हस्तबहादुरले बताए । तर घटनामा मुख्य हात रहेको शंका गरिएका मानबहादुरले पनि आत्महत्या गरेपछि घटना झन् रहश्यमय बनेको छ ।

यता कतिपय स्थानीयले ९ जनाको हत्या गर्न मानबहादुरले मात्र नसक्ने भन्दै घटनामा अन्य व्यक्तिहरूको पनि हात रहेको हुन सक्ने बताएका छन् । उनीहरूले तत्काल अपराधीलाई पत्ता लगाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रहरीले उजुरीउपर अनुसन्धान नगरेको आरोप लागिरहँदा पाँचथर प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले भने  बैशाख ३० गतेको सिसा काण्डका विषयमा गाउँपालिकामा नै जनप्रतिनिधि बसेर छलफल गरिएको बताए । उनले सिसा काण्डमा पीडित परिवारले किटानी जाहेरी नदिएका कारण दोषीलाई पक्राउ गर्न नसकिएको बताए । पछिल्लो घटनाको गहिरो अनुसन्धान भइरहेको पनि उनले बताए ।

घटनामा ज्यान गुमाएका १० जनाको शव परिवारले बझेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार पोस्ट मार्टम भएपछि शव परिवारका सदस्यहरूलाई बुझाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

बीपी कोराराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले तीन दिनमा पोस्ट मार्टम रिपोर्ट आउने बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार