• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

भारतीय लोकसभा निर्वाचनको मतगणनाः मोदीको दोब्बर मतले अग्रता


जेठ ९, काठमाडौं ।
भारतीय लोकसभा निर्वाचनको मतगणना  सुरु भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार बिहान ८ बजेबाट मतगणना सुरु भएको हो ।

देशभर एकसाथ सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा बाहिरिन थालेको छ । प्रारम्भिक नतिजामा सत्तारुढ गठबन्धन एनडीए नै अगाडि देखिएको छ । दोस्रो स्थानमा प्रमुख विपक्षी दल कांग्रेससहितको गठबन्धन यूपीए छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । वाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई दोब्बर बढी मतले पछि पारेका हुन् ।

दैनिक भास्करका अनुसार, मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको छ । मोदीले २१ हजार २ सय ३६ मत ल्याउँदा कांग्रेसका अजय राय ९ हजार ९ सय ८४ मतका साथ मोदीलाई पछ्याइरहेका छन् । शालिनी यादव तेस्रो स्थानमा छिन् । उनले ९ हजार २ सय ६१ मत पाएकी छन् ।

आजतकका अनुसार, सत्तारुढ गठबन्धन एनडीए ३१० स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका १११ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।

खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट चाहिन्छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार