• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

झाँक्रीको हत्या गरेपछि धादिङमा एकै गाउँका २६ जना जेल, गाउँमा पुरुषको संख्या रित्तीयो


जेठ ९, धादिङ ।
झाँक्रीको हत्या गर्ने २६ जनालाई धादिङ अदालतले कैद सजायको फैसला सुनाएको छ । जसमा ११ जनालाई जन्मकैद, अन्य ११ जनालाई साढे ५ बर्ष, ३ बालकलाई ३ बर्ष आठ महिना र बाँकी एक जनालाई  साढे ३ बर्ष कैद सजायको फैसला सुनाइएको हो ।

धादिङको गंगाजमुना गाउँपालिका–२ लतावमा दुई झाँक्रीको हत्या गरेपछि धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार यस्तो सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नवराज दंगालले बताए ।

जन्मकैदको सजायमा ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भीमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङ रहेका छन् । उनलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला गरिएको हो ।

यसैगरी, ३८ वर्षीय ज्ञानबहादुर भन्ने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही पाँच वर्ष छ महीना कैद गर्ने फैसला गरिएको छ ।


तस्बिरः पक्राउ परेकाहरु

१७ वर्षीय वुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ, १७ वर्षीय चन्द्रमान तामाङ बालक भएकोले पाँच वर्ष कैद हुनेमा दुई तिहाइ अर्थात् तीन वर्ष आठ महीना कैद गर्ने फैसला गरिएको छ । ५६ वर्षीय बलबहादुर तामाङलाई मतियारको रूपमा कटुवाल कराई झाँक्रीहरु मार्नका लागि सहयोग र्पुयाएकाले तीन वर्ष छ महीना कैद गर्न जिल्ला अदालतले फैसला सुनाएको छ ।

साधारण तारेखमा रहेका सुशीना तामाङ, असारमाया तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै सफाइ दिइएको छ । चार महिला साधारण तारेखमा रिहा भएका थिए भने बाँकी २६ जना पुर्पक्षका लागि थुनामा थिए ।

गाउँमा झाँक्री लागेर गाउँवासीलाई दुःख दिएको आरोपमा विसं २०७५ साउन ५ गते गाउँवासीको कुटपिटका कारण गङ्गाजमुना गाउँपालिका–२ लतावका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो ।

२ जनाको हत्या र २६ जना जेल जाँदा लताव गाउँमा पुरुषको संख्या रित्तीएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार