• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यान ‘खलंगा–बालुवासंग्रही’ सडकको निर्माण कार्य नसकिदै कालोपत्रे उत्रियो


जेठ ९, सल्यान ।
सल्यानमा सडकको निर्माण कार्य नसकिदै कालोपत्रे उत्रिएको छ । सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडकको रुपमा लिइएको खलंगा–कुपिण्डे–बालुवासंग्रही सडकको कालोपत्रे निर्माण कार्य नसकिदै उत्रिन थालेको हो ।

२०७२ सालमा सन्तोषी लोहनी जेभीले दुई बर्षमा काम सक्ने भन्दै सडकको स्तरोन्नति र ओटासिल प्रविधिको कालोपत्रे निर्माणको जिम्मा लिएको थियो । तर ४ बर्ष पुग्न लाग्दा काम पनि सकिएको छैन् । यो चार बर्षको अवधिमा ठेकेदारले जम्मा ३२ किलोमिटर सडकमध्य अहिलेसम्म १८ किलोमिटरको मात्रै काम गरेका छन् ।

अहिले खलंगादेखि सेरागाउँ नजिकैसम्म मात्र कालोपत्रे पुरा भएको छ । यो सडक ४ बर्षअघिदेखि काम सुरु गरिएको हो । ४ बर्षमा २ पटक कालोपत्रे गर्दा पनि फेरि उत्रिएको छ । पहिले गरेको कालोपत्रे केहि ठाउँमा उत्रेपछि यहाँ पुनः कालोपत्रे गरिएको थियो । तर उक्त कालोपत्रे पनि फेरी उत्रन थालेको हो ।

साहुटोलका स्थानीय सेर बहादुर डाँगीले भने, “पहिले गरेको कालोपत्रे उत्रिएपछि गत सालको बैशाखमा फेरी गरिएको थियो । तर एक बर्ष नपुग्दै पुनः उत्रियो ।” ठेकेदारले गिट्टी बालुवा कम राखेकाले कालोपत्रे उत्रिएको उनले बताए । कालोपत्रे साहुटोलदेखि अगाडीको भागमा प्राय ठाउँ-ठाउँमा उत्रिएको छ ।

त्यस्तै यो सडक निर्माण कार्यमा ढिलाइ हुँदा यात्रुहरू पनि सास्ती भोग्न बाध्य भएका छन् । राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति र ओटासिल प्रविधिको कालोपत्रेको लागी यो सडकमा २४ करोड ६१ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

सरकारले तोकेको अवधिभन्दा ठेकेदारले १५ महिना ढिला गरेको राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रमका प्रोजेक्ट सपोर्टर इन्जिनियर प्रवीण थापाले बताए । पहिलोे चरणमा काम नसकेपछि ठेकेदारकम्पनीलाई थप एक वर्षको म्याद दिइएको छ ।

विश्व बैंकको सहयोगमा सञ्चालित कार्यक्रमका योजना यसअघि जिल्ला प्राविधिक कार्यालयले हेर्दै आइरहेको थियो । संघीय व्यवस्था कार्यान्वनका क्रममा कार्यालयको टुंगो लाग्न ढिलाइ भएपछि केही समय काममा समस्या पनि भएको थियो ।

सरकारले आगामी वर्षदेखि ओटासिल कालोपत्रेको काम नगर्ने भएकाले ज्यामिरेदेखि बालुवासंग्रही सम्मको बाँकी रहेको १४ किलोमिटर सडक अहिले ग्राबेल गरिने कार्यक्रमले जनाएको छ । प्रदेश राजधानी जोड्ने सडक भएकाले सडक थप स्तरबृद्धि हुने स्थानीयको अपेक्षा छ ।

कार्यक्रमले कोटभिरमा पर्खाल लगाउन यस वर्ष दुई करोड रुपैयाँ बिनियोजन गरेको छ । कोटभिरमा वर्षायामा बढी जोखिम हुने भएकाले पर्खाल लगाइ सडक चौडा बनाउन लागिएको हो ।

खलंगा–जयतपानी–बालुवासंग्रही सडकको ट्रयाक २०५२ मा खनिएको हो । सशस्त्र द्वन्द्वको क्रममा १२ वर्षसम्म स्तरोन्नतिको कुनै काम हुन नसकेपछि २०६४ सालमा सडकको पुनर्निर्माण गरिएको थियो । यस वर्ष सडकको १८ किलोमिटर खण्डमा पिच र १४ किलोमिटरमा ग्राबेल गरिने कार्यक्रमले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार