• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

चुनाव हारेपछि राहुल गान्धीले पार्टी अध्यक्ष पद छाड्ने प्रस्ताव गरे


जेठ ११, नयाँ दिल्ली । 

लोकसभा चुनावमा हार बेहोरेपछि भारतीय कँग्रेसको कार्यसमिति बैठक जारी छ । बैठकमा राहुल गान्धीले हारको जिम्मेवारी लिँदै पार्टीको अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव गरेका छन् ।

यद्यपि, कार्यकारिणी सदस्यले उनको प्रस्तावलाई अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यता, पार्टी प्रवक्ता रणदीप सिंह सुरजेवालाले भने राहुलले राजीनामाको प्रस्तावको खबर गलत भएको बताएका छन् ।

बैठकमा सोनिया गान्धी, मनमोहन सिंह, गुलाम नबी आजाद, प्रियंका गान्धी वाड्रासमेत कयौँ नेता उपस्थित रहेका छन् ।

राजीनामा दिएर राहुल सन् २०१४ जस्तै पार्टीको खराब प्रदर्शनका लागि आफू जिम्मेवार भएको सन्देश दिन चाहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सन् २०१४ मा काँग्रेसले ४४ सिट जितेको थियो भने यसपटक पार्टीले थप आठ सीट जितेको छ ।

बैठकमा लोकसभा चुनावमा बेहोरेको हारको समीक्षा गरिनेछ । विशेष गरेर मध्यप्रदेश, राजस्थान र छत्तीसगढ जस्ता क्षेत्र जहाँ पार्टीले पाँच महिनाअघि विधानसभा चुनावमा जित हासिल गरेको थियो । त्यस्तै, कर्नाटक विधानसभा चुनावमा बेहोरेको हारबो पनि मन्थन हुनेछ ।

यसबीच कर्नाटक, उत्तरप्रदेश र ओडिशामा कँग्रेस पार्टी अध्यक्षहरुले हारको जिम्मेवारी लिँदै पदमा राजीनमा दिएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार