• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

पाँचथर हत्याकाण्ड : मानबहादुरले विदेशमा पैसा कमाउन नसक्दा श्रीमतीसंग झगडा सुरु भयो


जेठ १२, पाँचथर । पाँचथरेको मिक्लाजुङ ७ लुमाङदिनका मानबहादुर माखिम र मिक्लाजुङ ३ आरुबोटेकी मनकुमारी फियाकको सामाजिक परम्पराअनुसार बिहे भएको थियो, ७ वर्ष पहिले।

जुम्ल्याहा छोरी जन्मे पनि असमयमै बितेपछि वैदेशिक रोजगारीमा गएका थिए, मानबहादुर। विदेश जाँदा रकमको व्यवस्था मनकुमारीकै माइतीले गरिदिएको थियो। यो खबर आज प्रकाशित नेपाल साप्ताहिकमा गणेश साम्पाङले लेखेका छन्।

विदेशमा पैसा कमाउन नसकेकोलगायतका कारण पत्नीसित उनको खटपट सुरु भयो अनि माइतीमै बस्न थालिन्। मानबहादुरले मनकुमारीलाई घरमा लैजान जबर्जस्ती गर्दा झैझगडासमेत भयो।

उक्त झगडा दम्पतीको झगडा भनेर गाउँपालिका केन्द्र इलाका प्रहरी कार्यालयको रोहबरमा ०७५ असारमा दुवै मिलेर बस्ने सर्त भए पनि कार्यान्वयन भएन। मनकुमारीले जिल्ला अदालत पाँचथरमा असोज ०७५ मा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपछि सम्बन्धमा झन् दरार आयो।

त्यसकै परिणति मानिएको छ, ६ जेठ राति पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा चार बालिकासहित ९ जनाको बीभत्स हत्या। हत्यामा शंकास्पद ठानिएका मानबहादुरसमेत भोलिपल्ट दिउँसो नाइलनको डोरीमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिए।

एकै रात ९ जना मारिएको मुलुककै ठूलो हत्याकान्डमा धेरै जनाको संलग्नता अनुमान गरिए पनि घटनाको प्रकृति हेर्दा त्यस्तो नदेखिएको प्रहरीको भनाइ छ। भागेर ज्यान बचाएकी बालिकाले पनि प्रहरीलाई एक व्यक्ति मात्र देखेको बताएकी छन्।

माखिममा मानसिक समस्या रहेकाले औषधि सेवन गरिरहेको पारिवारिक स्रोतको भनाइ छ। आरुबोटे हत्याकाण्ड हुने दिन उनले खाना पनि खाएका थिएनन्।

७ जेठ बिहान ३ बजेर ६ मिनेट जाँदा उनले गाउँका साथी नेलकल माखिमको मोबाइलमा फोन गरेर भनेका थिए,‘मेरो पुरानो रोग बल्झियो, ५ हजार रुपैयाँ दिनू। म भाइलाई लिन पठाउँछु।’

सबै प्रविधिसहित सीआईबीले सूक्ष्म अनुसन्धान गरेकाले यसको सत्यतथ्य चाँडै पत्ता लाग्ने पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुँवरको दाबी छ।

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार