जेठ १२, काठमाडौं- हिन्दुवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा पनि भारतमा जस्तै हिन्दुबादीहरुको बहुमत आउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
‘भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड बहुमतसहित सरकार बनाउन सकेको छ’, थापाले भने, ‘भारतमा हिन्दुवादीहरुले सक्छन् भने हामीले मेहनत गर्दा आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्नबाट कसैले रोक्न सक्दैन। ‘ अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि अलमल नगरी राप्रपामा गोलवद्ध आग्रह पनि गरे ।
कार्यक्रममा सिन्धुपाल्चोकबाट विभिन्न दलका कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए । कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष तथा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङले देशव्यापी रुपमा पार्टीले सुरु गरेको संगठन सुदृढीकरण अभियानलाई अगाडि बढाउन आग्रह गरे ।