• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

विस्फोटमा मारिने नागरिक होइनन् : गृहमन्त्री थापा


जेठ १३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबारको विस्फोटमा मृत्यु भएका सामान्य नागरिक नभएको बताएका छन् । सोमबार प्रतिनिधिसमा बैठकमा बोल्दै गृहमन्त्री थापाले विस्फोटमा मृत्यु, घाइते भएका सबै जसो विप्लव समूहसँग सम्बद्ध रहेको भन्दै उनले गैरकानुनी काम गर्ने सर्वसाधारण नहुने अभिव्यक्ति दिएका हुन् ।

‘उनीहरु सामान्य जनता होइनन् । घटना घटाउने कै ज्यान गएको छ’ थापाले भने–‘गैरकानुनी काम गर्ने सर्वसाधारण हुन सक्दैन’ । उनीहरू घटना घटाउन बम बनाउने क्रममा मारिएकाले उनीहरूलाई साधारण नागरिक भन्न नहुने उनले बताए ।

विप्लवले जनसरकारकारुपमा जनपरिषद् र जनसेनाकारुपमा चार कम्पनी गठन गरेको थापाले खुलासा गरेका छन् । उनीहरूको मुख्य निशाना काठमाडौं उपत्यका रहेको समेत उनले बताए ।

गृहमन्त्री थापाले विप्लवसँग ५ सय भन्दा बढी सेना भएको बताए । “एक कम्पनी बराबर एक सयदेखि १ सय ५० सेना हुन्छन्”, थापाले भने ।

जनसेनाका रूपमा उनीहरूले चार कम्पनी निर्माण निर्माण गरिसकेका छन् । त्यसैगरी जनसरकारका रूपमा जनपरिषद् संस्था पनि गठन गरेका छन्,’ उनको भनाई थियो ।

गृहमन्त्री थापाले नेकपा गठन गरेर विप्लव समूहले संविधान र राज्य व्यवस्थाविरूद्ध गैरकानुनी र शान्ति विरोधी गतिविधि गर्दैं आएको समेत बताए । तर पनि सरकारले उनीहरुसँग वार्ता अगाडि बढाएको उनले जानकारी दिए ।

‘विप्लव समूहका गैरकानुनी गतिविधि नियन्त्रण गर्ने र वार्ता तथा संवादद्वारा मूल प्रवाहमा ल्याउने दुवै प्रक्रिया अघि बढेका छन् । यो समूहलाई मूलधारमा ल्याउन र उनीहरूका अराजक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिबद्ध छ,’ उनले भने ।

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार