• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

बन्दले देशभरको जनजीवन प्रभावित : ठाउँठाउँमा गाडी आगजनी र बम फेला (विवरण सहित)


जेठ १३, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्‍वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दले यातायात, उद्योग, कलकारखाना, शैक्षिक संस्था, बजार खुलेका छैनन् ।

बन्दको अवज्ञा गरेको भन्दै ठाउँठाउँमा गाडी आगजनी भएका छन् भने बम विस्फोट र फेला परेका छन् ।  सुर्खेतमा एउटा यात्रुबहाक सबमा आगजनी गरिएको छ । प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा बिहानै आगजनी भएको हो । आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको सुर्खेत प्रहरीले जनाएको छ ।

त्यसैगरी विहानै मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले हेटौंडा १ चौकीटोलमा र थाहा नगरपालिका १ खानीगाउँमा ट्रकमा आगजनी गरेको बताइएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको कमवानपुर प्रहरीले जनाएको छ । प्रहरी चौकी नजिकै भएको आगजनीबाट ट्रममा क्षति पुगेको छ । यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको छ ।

यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।देशका विभिन्न ठाउँमा बम फेला परेका समाचार आइरहेका छन् ।

ललितपुरमा बम, रोबोटको सहायताले निस्कृय

खुमलटारको टुटेपानीमा रहेको नेपाल लेप्रोसी ट्रस्ट भवन पेटीमा बम फेला परेको छ । लेप्रोसी ट्रस्टको पेटीमा झोलाभित्र प्रेसर कुकुर बम भेटिएको हो । सेनाले रोबोटको सहायताले बम निस्क्रिय बनाएको छ । पाँच लिटरको कुकरमा दुई वटा डेटोनेटर र ६ वटा क्यामरामा लगाउने जस्तो देखिने ब्याट्री भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भैसेपाटीको आभास क्षेत्रनजिकै उकालो बाटोमा ६ वटा डेटोनेटर र बिस्फोटक पाउडरसहितको बम फेला परेको सेनाले जानकारी दिएको छ । उतm बम लगनखेलस्थित राजदल गणले निस्क्रिय बनाएको हो ।

सोमबार बिहान ललितपुरका दुई ठाउँ राखिएका बम निकै शतिmशाली रहेकोे डिस्पोजमा खटिएका सेनाले जनाएका छन् । एउटा डेटोनेटरले एउटा घरलाई क्षति गर्न सक्ने सेनाको भनाई छ ।

बिहानै भैसेपाटीमा बम डिस्पोज गरी खुमलटार आइपुगेको राजदल गणका टोलीले क्षति कम गर्नका लागि सिनामंगलबाट रोबोट झिकाएको थियो । खुमलटारमा करीब साढे सात बजे बम भेटिएकोमा झण्डै १० बजे मात्रै डिस्पोज गरिएको थियो ।

 

सिन्धुलीमा शंकास्पद वस्तु

सिन्धुलीको दुधौली नगरपालिका ९८ स्थित खोरभञ्याङमा फेला परेको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ। निमार्णाधिन मदन भण्डारी राजमार्गको सिन्धुली दुधौलीस्थित पुर्वीखण्डमा खोरभन्ञ्याङमा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु सकेट बम जस्तो देखिने नक्कली ‘होक्स’ भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिए।

दुईवटा सकेट बमजस्ता देखिने शंकास्पद वस्तुमा रातो कालो तार जोडिएको र बन्द सफल पारौं जस्ता लेखिएका पर्चा पनि भेटिएपछि प्रहरीले बम भएको आशंका गरेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तुको डिस्पोज गर्दा नक्कली बम भएको पुष्टि भएको सिंहले जनाकारी दिए। शंकास्पद वस्तु भेटिएपछि मदन भण्डारी राजमार्ग अवरूद्ध भएको थियो।

नुवाकोटमा दुई बम निष्क्रिय

विदुर नगरपालिका- ५ पिपलटार र वेलकोटगढी नपा-५ कोल्पुटारमा बम फेला परेको छ। सुरक्षाकर्मीले दुबै बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ।पिपल्टारमा प्रेशर कुकर बम र कोल्पुटारमा पेट्रोल बम फेला परेको हो।

पासाङल्हामु मार्गको त्रिशूली-ककनी तथा गल्छी-देवीघाट सडकखण्डको बीचमा पनि बम फेला परेको छ। दुवै बम प्रहरीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

मोरङमा  दुई कुकर बम भेटिए

मोरङको बुढीगंगा गाउँपालिका-१ र सुन्दरहरैंचा नगरपालिका-७ मा बिहान फेला परेको अज्ञात वस्तु प्रेसर कुकर बम  भएको पुष्टि भएको छ। दुवै बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

दुवै ठाउँमा बम भेटिएपछि त्रास उत्पन्न भएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले दुवै ठाउँमा भेटिएको अज्ञात वस्तु प्रेसर कुकर बम भएको पुष्टि सेनाले गरेको जानकारी दिए । कोसी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिकाबाट विराटनगर महानगरपालिका प्रवेशद्वारमा भेटिएको बम सेनाको टोलीले बिहान ९:३० बजे डिस्पोज गरेको हो।

महोत्तरीमा पनि भेटियो बम

बर्दिबास नगरपालिका कार्यालय अगाडी भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। बस फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ।

इटहरीको बम डिस्पोज

इटहरी २० पानीपियामा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। दुईवटा पोकामा सडकको बीचमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो। बिहानै गस्तीमा हिँडेका सुरक्षाकर्मीले उक्त बम भेटेका थिए। टाइम सेट गरेर राखिएको टाइमर बम डिस्पोज गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

पृथ्वीराजमार्गको २ ठाउँमा बम

पृथ्वीराजमार्ग अन्तरगत धादिङका २ ठाउँहरुमा बम भेटिएको छ। धादिङको महादेववेशी र नौविसेमा बम भेटिएपछि नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ। थाक्रे गाउँपालिका वडा नं ६ महादेवबेसी पुलमा सकेट बम भेटिएको हो भने धुनीबेसी नगरपालिका वडा नं ६ नौबिसेमा प्रेसर कुकर बम भेटिएको छ।

मधुमल्ला र दमकमा शंकास्पद बस्तु

मोरङको मिक्लाजुङ गाउँपालिकास्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा सोमबार शंकास्पद वस्तु भेटिएको छ। वडा नं. ९ बजारबाट करिब २०० मिटरको दुरीमा उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको हो।

कालो टेपले बेरिएको सानो वस्तुमा तार जोडिएको छ। बन्दका दिन उक्त शंकास्पद वस्तु भेटिएकाले विप्लब समूहले नै राखेको हुन सक्ने प्रहरीको अनुमान छ। बम डिस्पोज गर्न नेपाली सेनालाई खबर गरीसकेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टेकबहादुर श्रेष्ठले बताए।

यसैबीच झापाको दमक स्थित रतुवा पुलमा पनि शंकास्पद वस्तु भेटिएको छ। पुर्वपश्चिम राजमार्गको रतुवा पुलमा केहीबेर अघि प्लाष्टिकले बेरिएको अवस्थामा शंकाष्पद वस्तु भेटिएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए।

पुलबाट करिब ५० मिटर पश्चिम भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्नका लागि नेपाली सेनासँग समन्वय भईरहेको एक्तेनले जानकारी दिए। सो क्षेत्रलाई प्रहरीले अहिले घेरा हालेर राखेको छ। शंकास्पद वस्तुका कारण पुर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ।

भक्तपुर

भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहानै बम फेला परेको थियो । सेनाको टोलीले उक्त बम निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।

मकवानपुर

मकवानपुरको हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको छ । नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

अर्घाखाँची र बाग्लुङ

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कस्थित अर्घाखाँची र बाग्लुङमा पनि बम फेला परेका छन् । बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि बम फेला परेको छ ।

कपिलवस्तु

कपिलवस्तुको वाणगंगाका दुई स्थानमा पनि बम भेटिएका छन् । बमलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय पारेका छन् । नवलपुरको मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट बोकेको ट्रकमा पेट्रोल बम प्रहार भएको छ ।

कास्की

गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य चोकमा बम भेटिएको बताइएको छ । पोखराको पृथ्वी चोकमा भेटिएको बम सुरक्षाकर्मीले निष्कृय पारेका छन् ।

नेकपाले भोजपुरमा आफ्ना जिल्ला नेता तिर्जराज घिमिरेको हत्या गरिएको भन्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो । बन्दकै पुर्वसन्ध्यामा हिजो काठमाडौँका विभिन्न ठाउँमा भएको विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । मृत्यु हुने र घाईते हुने नकपाकै कार्यकर्ता भएको प्रहरीको पुष्टी छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार