• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

गृहमन्त्रीलाई सांसदहरुको प्रश्नः ‘हिजो तपाईले पनि बम विस्फोट गराउनु भएको हो नी ?’


जेठ १३, काठमाडौं  । राजधानीमा भएका बम विस्फोटका घटनालाई लिएर सांसदहरुले गृहमन्त्री राम बहादुर थापाप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा देशको शान्ति सुरक्षालगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको बताएपछि कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका हुन् ।

हिजोका दिनमा गृहमन्त्री थापाले पनि जनयुद्व गर्दा त्यस्तै कार्य गर्दा गरेको भन्दै सांसदले विप्लवका कार्यकर्तालाई पनि सहि व्यवहार गर्न आग्रह गरे । सांसद देवेन्द्रराज कँडेलले ‘हिजोको द्वन्द्वकालीन समयमा तात्कालिन सरकारले बोल्ने भाषा नै गृहमन्त्रीले प्रयोग गरेको भन्दै हिजोको सरकारले गरेको काम गलत थियो कि सही’ भनी प्रश्न गरे ।

बम विस्फोटमा मारिएका नागरिक हैनन् भन्ने अधिकार गृहमन्त्रीलाई कसले दियो भन्दै उनले त्यसलाई संसद रेकर्डबाट हटाउन माग गरे । उनले प्रश्न गरे ‘द्वन्द्वकालमा मरेका नागरिक थाए या थिएनन्’

सांसद डाक्टर मिनेन्द्र रिजालले सशस्त्र द्वन्द्वमा बाँचे सत्तामा पुगिन्छ मरे नागरिकता जान्छ भन्ने गृहमन्त्रीको भनाइबाट समस्या समाधान नहुँने बताए । उनले थापालाई हिजोका आफ्ना दिन सम्झन आग्रह गरे । विप्लव सँग वार्ता गर्न आग्रह गरे ।

सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसक्ने सरकारले हठ नत्याग्ने र विप्लवले पनि आफ्नो हिंसा नत्याग्ने हो भने त्यसको पीडा सर्वसाधारणले कहिलेसम्म भोग्नुपर्ने भनी प्रश्न गरिन् । उनले सोधिन् ‘गृहमन्त्रीले राजधानीमा भएको विस्फोटमा परि मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो । उनीहरु नागरिक होइनन् भने को हुन् ?’

सांसद उमा रेग्मीले राजधानीको बमकाण्डले सबैलाई तात्कालिन माओवादीको झल्को दिलाएको भन्दै वार्ता मार्फत समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद लक्षमणलाल कर्णले राजधानीको बम विस्फोटको घटनाले समग्र देशबासी नै चिन्तित रहेको भन्दै राजनीतिक रुपले समस्यामा समाधान खोज्न माग गरे ।

यो पनि, विस्फोटमा मारिने नागरिक होइनन् : गृहमन्त्री थापा

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार