• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानको दमाचौरमा भीषण आगलागी : घर र भवन जलेर नष्ट


जेठ १३, सल्यान । सल्यानको छत्रेश्वरि गाउँपालिका १ दमाचौरमा भीषण आगलागी भएको छ । दमाचौरको ओखरजिउला सामुदायीक वनबाट लागेको आगो अहिले चारैतिर फैलिएको वडा सदस्य प्रकाश हमालले बताएका छन् ।

उनका अनुसार आगलागीबाट अहिलेसम्म एउटा घर र भवन जलेर नष्ट भएको छ । आगलागीले काल्चेका स्थानीय कमल प्रसाद शर्माको घर जलेको छ भने आत्मेश्वर शिव मन्दिरको एउटा भवन र घेरबार जलेर नष्ट भएको उनले बताए ।

आगलागी ओखरजिउलाबाट काल्चे र कुटी बजार नजिकसम्म पुगेको छ । दिउँसो २ बजेदेखि लागेको आगो गाउँमा पस्न लागेपछी स्थानीयहरु त्रसित भएको सदस्य हमालले लेकाली अनलाइनलाई बताए ।

उनले भने, “म अहिले आगलागी भएको ठाउँमा छु, हामी डेढ सय जना जतिले आगो निभाउन खोजिरहेका छौँ । यहाँ केहि प्रहरी छन् भने जिल्लाबाट सशस्त्र प्रहरी पनि आउदैछन् ।”

आगोको बेग अत्यधिक बढेको र हावाहुरी धेरै लागेकोले आगो निभाउन कठिन भएको उनले बताए ।

आगलागीबाट थप क्षेती रोक्नको लागी घरमा भएका सामानहरु सुरक्षित ठाउँतिर राख्ने काम पनि भैरहेको उनले बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार