• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

बम विस्फोटमा ४ जनाको मृत्यु भएपछि विप्लवको आयो यस्तो प्रतिकृया ?


जेठ १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले केपी सरकारको दमनले हिजो काठमाण्डौंमा बम विस्फोट भएको बताएका छन् । हिजो साँझ राजधानीको विभिन्न ठाउँमा बम विस्फोट भएर मृत्यु भएको घटनापछि आज विज्ञप्ती सार्वजनिक गर्दै विप्लवले घटना हुनुको मुख्य दोषि केपी सरकारको फासिवादी दमन रहेको आरोप लगाएका छन् ।

घटनामा बलिदान गर्ने पार्टी, जनमुक्ति सेना र जवसका कमान्डरहरू महान, दीपेन्द्र, प्रज्वलशाही र निरन्तरका साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’लाई पार्टीले सहिद घोषणा गरेको विप्लवले जनाएका छन् । विप्लवले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

त्यस्तै विप्लवले आजको नेपाल बन्द सफल पारेको भन्दै धन्यवाद दिएका छन् । सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने विप्लवले प्रस्ट पारेका छन् ।

साथै महासचिव विप्लवले भनेका छन, ‘हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जाननदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।’ राज्यआतङ्क, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न उनले आह्वान गरेका छन् ।

यस्तो छ विप्लवद्वारा जारी विज्ञप्ती

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार