• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

बम विस्फोटमा घाईते भएकालाई पुरा उपचार हुन नदिएरै प्रहरीले अस्पतालबाट उठायो


जेठ १४, काठमाडौँ । विस्फोटमा परी घाइते भएका दुई जनालाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको छ । काठमाडौँको घट्टेकुलो र चन्द्रागिरीमा भएका विस्फोटका घाइते दुई जनालाई प्रहरीले मंगलबार गिरफ्तार गरेको परिवारले जानकारी दिएका हुन् ।

घट्टेकुलो विस्फोटमा परी घाइते भएका रविन केसी र चन्द्रागिरी विस्फोटका घाइते बुद्ध लामालाई प्रहरीले उपचार गर्दागर्दै गिरफ्तार गरेको छ । आफन्तका अनुसार केसीलाई विस्फोटमा परी ज्यान गुमाउने प्रज्वल शाहीले भेट्न बोलाएको बेला विस्फोटमा परी घाइते भएका थिए ।

“प्रज्वल मेरो मिल्ने साथी हो, मलाई भेट्न अनामनगर बोलाउनुभयो, म पुगेर हात मिलाउन नपाउँदै ठूलो अवाजमा विस्फोटको आवाज आयो, अरु के भयो मलाई केही पनि थाहा छैन” केसीले भनेको अस्पताल पुगेका एक आफन्तले बताए ।

नेकपा निकट अखिल क्रान्तिकारीको कार्यकर्ता भएको तर आफूलाई विस्फोटमा अरु केही जानकारी नभएको केसीले बताएका छन् ।

त्यसैगरी चन्द्रागिरीको थानकोट नजिकै भएको अर्को विस्फोटका घाइते लामाले आफू मोटरसाइकलमा गइरहेको बेला विस्फोट हुँदा घाइते भएको बताएका छन् । अस्पताल पुगेका आफन्तसँग लामाले बम विस्फोटमा आफू संलग्न नभएको बताएका छन् ।

लामाले आफू आफन्तलाई भेट्न गइरहेको बेला विस्फोटमा परेको बताए । “म आफन्तलाई भेट्न गइरहेको थिए । म बाटोमा हिडिरहेको बेला नजिकै विस्फोट भयो” लामाको भनाई उदृत गर्दै आफन्तले भने ।

दुबै जनालाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेपछि परिवारले आपत्ति जनाएका छन् । उनीहरुले सरकारले उपचार भइरहेका घाइतेलाई गिरफ्तार गरेर सामान्य मानवीय संवेदना समेत गुमाएको आरोप लगाएका छन् । युद्धका घाइतेलाई समेत उपचार गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ तर सरकारले दुर्घटनामा परेका घाइतेको समेत उपचार हुन नदिएको आफन्तले बताएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार