• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

जंगलको काफल बेचेरै ७५ हजार कमाउने ‘काफलवाली’ सम्मानित


जेठ १९, अर्घाखाँची । जंगलको काफल बेचेर ७५ हजार रुपैयाँ कमाउन सफल काफलवाली अर्थात् गीता खत्री सम्मानित भएकी छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –६ नरपानी उपल्लो जगात निवासी २२ वर्षीय गीता खत्रीले काफल बेचेरै ७५ हजार कमाउन सफल भएकी हन् । काफलवालीलाई शनिबार उपल्लो जगातमा भएको एक कार्यक्रममा सम्मान गरिएको छ ।

नरपानीको उपल्लो जगातमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उनलाई सम्मान गरेका हुन् ।

स्नातक तहमा अध्ययन गरिरहेकी गीताले जंगलमा फलेको काफल सन्धिखर्क गोरुसिंगे सडकको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा गाडीमा हिँड्ने यात्रुलाई बेचेर ७५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएकी हुन् । गीता सन्धिखर्कको पाणिनी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले भनिन्, ‘पढ्का लागि पैसो जुटाउन काफल बेचेकी हुँ । केही काम गरौं न भने पाइँदैन । त्यसैले जंगलमा गएर काफल टिपेर बेचें । कमाइ पनि राम्रै भयो । अब मलाई यस वर्ष पढाइ खर्चको चिन्ता छैन ।’

नरपानीका धेरै महिला जंगलको काफल टिपेर बेच्छन् । गाउँका भाउजू र आमाहरूले जंगलमा गएर काफल टिपेर बाटोमा बेच्ने गरेको देखेपछि आफू उत्साहित भएको उनले बताइन् । उनले भनिन्, ‘पहिलापहिला त लाज पनि लाग्थ्यो । लाज मानेर के गरुँ ? पैसो र पढाइ सम्झन्थें । पछि बानी प¥यो । अहिले खुसी छु ।’

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार