• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दरबार हत्याकाण्डको १८ वर्ष : घटना अझै रहस्यमय


जेठ १९, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।

नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ । नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो ।

घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति मारिएका थिए । यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

तत्कालीन राजा वीरेन्द्रको निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । जेठ २२ मा उनको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।

हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो । उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन ।

तत्कालीन सभामुख तारानाथ रानाभाट तथा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले सो घटनाको दोषी दीपेन्द्रलाई देखाई प्रतिवेदन सार्वजनिक गरेको थियो । सो समितिले घटनासँग जोडिएका पात्रहरूको बयानलाई आधार बनाएर प्रतिवेदन तयार पारेको थियो । तर सो प्रतिवेदनप्रति आम जनताको विश्वास लागेन र घटना अहिले पनि शंकाकै घेरामा रहेको छ ।

हत्याकाण्डलगत्तै तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा घटना भएको त्रिभुवन सदनलाई भत्काउन लगाइएको थियो । हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले दरबार त्रिभुवन सदनको पुनर्निर्माण गरेको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण गरी संग्रहालयका रुपमा संरक्षण गरिएको हो ।

अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ । गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनको राजदण्ड समेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ ।तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन पेश गरेको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार