• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

यार्सा टिप्न गएका ३ जनाको लेक लागेर र भीरबाट खसेर मृत्यु


जेठ १९, जाजरकोट । जाजरकोट, डोल्पालगायत जिल्लाका पाटनमा यार्सा टिप्न सुरू भएको छ । गाउँ नै खाली गरेर पाटन पुगेकामध्ये केही लेक लागेर बिरामी भएका छन्, केहीको मृत्युसमेत भएको छ । हिउँ नपग्लिएकाले धेरै ठाउँमा यार्सा संकलन प्रभावित हुन थालेको छ ।

जाजरकोट र डोल्पामा यार्सा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । दुई जनाको लेक लागेर र एक जनाको भीरबाट खसेर ज्यान गएको हो ।

डोल्पाको फूलबारी पाटनमा गएका जाजरकोट, बारेकोटका कृष्ण नेपाली र रमेश चलाउनेको लेक लागेर शनिबार मृत्यु भएको डोल्पास्थित नेपाली सेनाको ईश्वरी बक्स गुल्मले जनाएको छ । मृतक दुवैको उमेर १८ वर्ष छ । यार्सा संकलन गर्न पाटनमा चढदै गर्दा उनीहरूलाई शुक्रबार लेक लागेको थियो । उपचारका लागि शे–फोक्सुन्डो ल्याउने क्रममा चलाउनेको बाटोमै र नेपालीको उपचारक्रममा शनिबार बिहान मृत्यु भएको गुल्मका क्याप्टेन कुमार थापाले बताए ।

उनका अनुसार यार्सा टिप्न गएका अन्य केही व्यक्ति लेक लागेर बिरामी भएका छन् । ‘बिरामीमा टाउको दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने, हातखुट्टा दुख्ने, श्वासप्रश्वास बन्द हुने लक्षण देखिएको छ,’ उनले भने, ‘पाटनमा गएर उपचार गर्न समस्या भएको छ ।’

त्यसैगरी, यार्सा टिप्न जाँदै गर्दा भीरबाट लडेर डोल्पा, ठूलीभेरी नगरपालिका–११ की बुद्धि कार्कीको मृत्यु भएको छ ।

३८ वर्षीया कार्की बिहीबार दुना पाटनबाट रमाना जाने क्रममा भीरबाट खसेको ठूलीभेरी नगरपालिका–११ का वडाध्यक्ष लक्ष्मी कार्कीले जानकारी दिए । ‘यो वर्ष अत्यधिक मात्रामा हिमपात भएकाले पाटनमा अझैसम्म हिउँ पग्लिएको छैन,’ उनले भने, ‘ख्याल नगर्दा चिप्लिएर लड्ने जोखिम बढी छ ।’ कार्कीको शव भीरबाट करिब२ सय मिटर तल खसेको अवस्थामा भेटिएको उनले बताए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार