• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

केन्द्र सरकारबाट सबैभन्दा धेरै बजेट कर्णाली प्रदेशलाई


जेठ २०, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ मा केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेट समग्रमा २१ अर्ब ३० करोड रुपैयाँले बढेको छ ।

सात प्रदेशमा सबैभन्दा बढि कर्णाली प्रदेशले बजेट पाएको छ । कर्णाली प्रदेशमा ९ अर्ब ८४ करोड ८३ लाख बजेट विनियोजन गरिएको हो ।

त्यस्तै प्रदेश १ मा ८ अर्ब १६ करोड ३३ लाख, प्रदेश २ मा ७ अर्ब ८ करोड ५९ लाख, प्रदेश ३ मा ७ अर्ब ५९ करोड ६४ लाख, गण्डकी प्रदेशमा ७ अर्ब ११ करोड २२ लाख, प्रदेश ५ मा ७ अर्ब ५४ करोड १ लाख र सुदुरपश्चिममा ७ अर्ब ९५ करोड २४ लाख रुपैया विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार आगामी आर्थिक वर्षमा तल्ला सरकारहरुलाई विभिन्न शीर्षकमा कूल ४ खर्ब ६४ अर्ब रुपैयाँ केन्द्र सरकारको खाताबाट जानेछ । यो रकम चार प्रकारका अनुदान वित्तीय समानिकरण, सशर्त, विशेष र समानिकरण तथा राजस्व बाँडफाँटका माध्यमबाट बिनियोजन हुने होे ।

चालु आर्थिक वर्षमा ४ खर्ब ४२ अर्ब ७० करोड रुपैयाँ केन्द्रबाट गएको थियो । चालु आवको तुलनामा यस वर्ष ४.५९ प्रतिशत बढी रकम छुट्याइएको छ ।

चालु आर्थिक वर्षको तुलनामा प्रदेशमा जाने रकम २.९३ प्रतिशतले घटेको छ । यसको कारण सशर्ततर्फको बजेट घट्नु हो । शसर्त अनुदानतर्फ प्रदेशमा जाने रकम चालु आर्थिक वर्षको तुलनामा करिव ४२ प्रतिशतले घटाइएको छ । जसले गर्दा अन्य अनुदान बढे पनि केन्द्रबाट समग्ररुपमा प्रदेशमा जाने रकम कम भएको देखिन्छ ।

अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेशलाई ४४ अर्ब ५५ करोड रुपैयाँ सशर्त अनुदान जाने छ । चालु आवमा यो अनुदान ६३ अर्ब १३ करोड थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार