• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

हावाहुरीले नवलपरासी र अर्घाखाँचीमा सयौँ घरमा क्षति, एकको मृत्यु


जेठ २०, काठमाडौं । हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । आइतबार बेलुका आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए ।

जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले बताएका छन् ।

हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति र्पुयाएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिए । हावाहुरीले घरको छानो उडाइदिएको छ ।

हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

यसैबिच हावाहुरीका कारण अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । आइतबार राति आएको हावाहुरीले जिल्लाका ६ वटै स्थानीय तहका दुई दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हावाहुरीले छत्रदेव गाउँपालिकामा मात्र एक दर्जनभन्दा बढी घरको छानो उडाएको छ । सोमबार बिहानैदेखि क्षति पुगेको ठाउँमा प्रहरीको टोली खटिएको छ ।

हावाहुरीले पोल ढलेकाले विद्युत सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा पनि अवरुद्ध भएकाले क्षतिबारे थप जानकारी दिन समस्या भैरहेको प्रहरीले जनाएको छ । घटनाको पूरा विवरण आउन बाँकी रहेको  छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार