• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

नेपालगन्ज र काठमाडौंमा मुस्लिमहरुको इद यस्तो देखियो


जेठ २२, नेपालगन्ज। मुस्लिम धर्मावलम्बीहरूले  ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।

आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्नाका साथै  गरीबलाई दान दिने गरेका छन् ।

नेपालगन्जको इदगाहमा हजारौं इस्लाम धर्मावलम्वीले एक साथ सामुहिक नमाज पढेर इद उलफित्र मनाएका छन्।  सुर्खेत रोडको वीपी चोकमा बिहान ८ बजेदेखि ९ बजेसम्म सडक नै ठप्प पारी धर्मावलम्वीहरुले सडकमै नमाज पढेका थिए।

सामूहिक नामाजपछि एक आपसमा अंकमाल गर्दै खुसियालीसाथ इदको शुभकामना आदान प्रदान गरेका थिए। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईसँग अंकमाल गर्नेको भीड नै लागेको थियो।

यता काठमाडौं घण्टाघरस्थिम दुई मस्जिदमा बिहानै मुसलमानले नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरेका छन्  । इदको अर्थ उत्सव र मुवारकको अर्थ धन्य भएकाले इद उलफित्र पर्वको अवधिसम्म एकले अर्कालाई अभिनन्दन गर्ने क्रममा सो वाक्यको प्रयोग गर्ने गर्छन् ।

यस पर्वमा एकअर्कालाई उपहार दिनाका साथै पर्वमा सेवइलगायत  परिकार पकाएर खाने गरिन्छ । यो पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार