• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीको युरोप भ्रमण जंगबहादुर राणाको जस्तै


जेठ २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

ओलीको यो भ्रमण जंगबहादुर राणको जस्तै भएको छ । उनी लण्डनबाट पेरिस जाने जंगबहादुरकै जस्तो संयोगमा परेका छन् । सुरुमा स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने प्रधानमन्त्री ओली जेठ २७ गते सो समारोहलाई सम्बोधन गरेर साँझ अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिन लण्डन पुग्ने छन् । त्यसपछि जेठ २९ मा लण्डनबाट पेरिस पुग्नेछन् ।

भ्रमण तालिका यसरि मिलाइएको छ कि ओलीले जंगवहादुरको इतिहास पछ्याएको देखिन्छ । बेलायतको औपचारिक भ्रमण सकेर फ्रान्सको भ्रमण गर्ने अवसर १७० वर्षपछि ओलीलाई मिलेको उनका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए । वि.सं १९०६ मा बेलायत भ्रमणमा गएका श्री ३ जंगवहादुर राणा फ्रान्स हुँदै करिब दुईवर्षमा नेपाल फर्केका थिए ।

प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमणका क्रममा त्यहाँका समकक्षी एडवर्ड चार्ल्स फिलिपसँग भेटवार्ता गर्नेछन् । नेपाल–फ्रान्स दौत्य सम्बन्ध स्थापित भएको ७० वर्ष पुगेको अवसरमा उच्चस्तरीय भ्रमणका निम्ति ओलीको पेरिस यात्रा तय भएको हो । नेपालबाट ३५ वर्षपछि यो तहको फ्रान्स भ्रमण हुन लागेको हो ।

बेलायत नेपालको दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुक हो भने फ्रान्स चौथो । बेलायत, अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध फ्रान्ससँग ७० वर्षअघि स्थापित भएको थियो ।

फ्रान्सका तत्कालीन राष्ट्रपति फ्राङ्कोइस मितेराँले सन् १९८३ मा नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट राजा वीरेन्द्रले १९९४ मा फ्रान्सको औपचारिक भ्रमण गरेका थिए । त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदान–प्रदान भएको थिएन ।

जंगबहादुर राणापछि कृष्णप्रसाद भट्टराईले ०५६ सालमा नेपालबाट प्रधानमन्त्री तहको फ्रान्सको भ्रमण गर्ने तय भएको थियो, तर नेपाली कांग्रेसभित्रको किचलोका कारण गिरिजाप्रसाद कोइरालाले अविश्वास प्रस्ताव ल्याउन लागेपछि भट्टराईले राजीनामा दिएका थिए । त्यसबेला प्रधानमन्त्री भट्टराई फ्रान्सको ऐतिहासिक भ्रमणपछि राजिनामा दिन्छु भन्दा पनि धर पाएका थिएनन् ।

त्यो कारणले पनि अहिले केपी ओलीलाई जंगबहादुरपछि पेरिसको औपचारिक भ्रमण गर्ने नेपाली प्रधानमन्त्री बन्ने संयोग परेको छ । हुन त मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले पनि पेरिस भ्रमण गरेका थिए । तर ती दुवै भ्रमण औपचारिक नभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए ।

उनको फ्रान्स भ्रमणका क्रममा द्वीपक्षीय सम्बन्ध बिस्तारका विविध पाटोसँगै स्याटेलाइट र सुरक्षा मुद्रण सम्बन्धी जिटुजी सम्झौताबारे थप छलफल हुने सम्भावना छ । केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले फ्रान्स गएर यी दुई प्रविधि नेपालमा स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्रीको युरोप भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी सामेल हुनेछन् । जेनेभामा परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव डा. भरत पौडेलसमेत सहभागी हुनेछन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार