• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओली निकटका व्यक्तिले बनाएको पौने ६ करोडको पुल ढलान गर्दागर्दै भत्कियो


जेठ २३, झापा । झापाको मेचीनगर नगरपालिका १२ स्थित हडियाँ खोलामा ९ वर्ष अघिबाट निर्मण सुरु गरिएको निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । पाँच करोड ८७ लाख ५३ हजारको लागतमा मैनाचुली र लामा निर्माण कम्पनिले संयुक्त रुपमा निर्माण सुरु गरेको पुल यत्तिको समय बितिसक्दा निर्माण सम्पन्न हुनुको साटो निर्माणधीन अवस्थामा नै भत्किएको छ ।

वि.सं २०६७ सालमा २ बर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएपनि ४ पटकको म्याद थप हुँदा समेत निर्माण कार्य सम्पन्न नसकेको हो । पछिल्लो समय थप भएको म्याद सम्पन्न भएपनि गुणस्तरहीन सामाग्रीको प्रयोग र प्राबिधिकको लापरबाहीका कारण पुल पुनः भत्किएको हो ।

निर्माण व्यवसायीको उच्चपदस्त राजनितिक व्यत्तिसँगको संरक्षण पाएकाले सम्झौता अवधिभन्दा ७ वर्ष धेरै समय थपगर्दा समेत पुल निर्माण नगरेको स्थानीयको भनाई छ । गत आइतबार ढलान गर्दागर्र्दै अचानक पुल भत्किएपछि निर्माण कार्य अझै केही वर्ष लम्बिने पक्का भएको छ । स्थानीय समेत रहेका सुपरभाइजर खगेन्द्र विष्टले गत आइतबार साँझ ढलानको कार्यमा ‘रेडी मिक्चर’ ले मसला खन्याउँदै गर्दा अचानक ‘फ्रेमिङ्ग’ भत्किएको बताए ।

लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको पुलको निर्माणमा समेत चरम लापरवाही भएको पाइएको छ । पुलको पिलरमा ढलान गरिएको स्थानमा समेत फलामका टुक्रा देखिएका छन् भने आवश्यक फिनिसिङ समेत नभएको पाइएको छ । निर्माणाधीन अवस्थामा रहेको पुल बारे जानकारी दिन उक्त स्थानमो कुनैपनि सुचनाको बोर्ड समेत राखिएको छैन । यस वर्ष पुल बन्नेमा आशाबादी भएका स्थानीय पुनः पुल भत्किएपछि चिन्तित बनेका छन् । उनिहरुले पुल निर्माण सम्पन्न हुनेमा समेत शंका व्यक्त गरेका छन् ।

२ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएर ९ बर्षमा पनि काम नसक्ने मैनाचुली निर्माण कम्पनीका सञ्चालक मदन अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलिका निकटका व्यक्ति मानिन्छन् । अधिकारीले ठेक्का लिएको झापाका अन्य कमल र बालुवाखोला पूल निर्माण समेत निर्धारित समयमा सम्पन्न भएका छैनन् । अधिकारीले राजनीतिक शक्तिको आडमा ठूला–ठूला ठेक्का पार्ने र अलपत्र पार्ने गरेको झापाका अन्य निर्माण ब्यवसायी बताउँछन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार