• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

कपुरकोट ‘अध्यक्ष कप’का सबै खेलमा वडा नं. ३ ले जित्यो


जेठ २६, सल्यान । सल्यान कपुरकोट गाउँपालिकाको वडा नम्बर ३ ले प्रथम अध्यक्ष कप २०७६ को शिल्ड जितेको छ । प्रतियोगिताका सबै खेल भलिवल, ब्याडमिण्टन र दौडमा पहिलो स्थान हाँसिल गर्दै वडा नम्बर ३ ले शिल्ड जित्न सफल भएको हो ।

विहिबार देखि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरमा शुरु भएको अध्यक्ष कप प्रतियोगिताको शनिबार समापन गरिएको छ । सो अवसरमा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगरले विजयी वडा र खेलाडिहरुलाइ पुरस्कार प्रदान गरेका छन् ।

भलिवलमा वडा नम्बर ३ ले पहिलो स्थान हाँसिल गर्दा दोश्रो वडा नम्बर ५ र तेश्रो वडा नम्बर ६ भएको छ । यस्तै ब्याडमिण्टन प्रतियोगीतामा पहिलो र दोश्रो स्थान वडा नम्बर २ ले नै प्राप्त गरेको छ भने तेश्रो स्थान वडा नम्बर ४ ले पाएको छ । ब्याडमिन्टनमा १२ वटा समूहले भाग लिएका थिए ।

४ सय मिटर महिला दौडमा पनि वडा नम्बर ३ कै चन्द्रा कुमारी घर्ती पहिलो भएकि छिन् भने वडा नम्बर ५ की रुपा साहु दोश्रो र वडा नम्बर ६ की देवा नेपालि तेश्रो भएकि छिन् । वडा अध्यक्षहरुको विचमा आयोजना गरिएको घैँटा फोड प्रतियोगितामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष यम कुमार वस्नेत विजयी भएका छन् ।

कपुरकोट खेलकुद विकास समितीको आयोजनामा भएको प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताबाट अत्यन्तै सम्भावना बोकेका खेलाडिहरु अगाडी आएको जनाउँदै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले खेलाडी र खेल क्षेत्रको विकासमा आगामी दिनमै लगानी बढाउदै लैजाने प्रतिवद्धता जनाए ।

गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले महिलाहरुलाइ पनि खेलकुदमा अगाडी बढाउन आफुहरु क्रियाशिल रहेको बताइन् । खेलमा युवाहरुलाइ आकर्षित गर्दै लैजानुपर्नेमा उनको जोड थियो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यम कुमार वस्नेतले आगामी वर्ष हरेक वडामा गाउँपालिका अध्यक्ष कप सञ्चालन पूर्व वडाध्यक्ष कप खेलकुद सञ्चालन गरिनुपर्ने बताए ।

यस्तै शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरीले आगामी दिनमा धेरै विधाका खेलहरु खेलाउन सुझाव दिए । प्रमुख रेफ्रि खेमराज केसीले खेलमा अनुशासन, लगनशिलता र धैर्यता जरुरी रहेको बताए । प्रतियोगिता अवधिभर प्रतियोगिता स्थलमा उपस्थीत भएर वडाध्यक्षहरुले आफ्ना वडाका खेलाडिहरुलाइ हौसला प्रदान गरेका थिए ।

भलिवलमा प्रथम, द्धितीय र तृतीय हुने समूहले क्रमशः ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् । ब्याडमिन्टन प्रतियोगीतामा प्रथम समूहलाइ ८ हजार, द्धितीयलाइ ६ हजार र तृतीयलाइ ४ हजार प्रदान गरिएको छ भने महिला दौडमा प्रथम, द्धितीय र तृतीय हुने खेलाडिलाइ क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

कपुरकोट गाउँपालिका, खेलकुद विकास समिती कपुरकोटको अध्यक्ष कपमा सोरठी, पञ्जेबाजा र लहरे नाच प्रस्तुत गर्ने समूहलाइ पनि खेल कुद विकास समतीको तर्फबाट २ हजार र गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको तर्फबाट ३ हजार गरि नगद पाँच पाँच हजार रुपैया र सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार