• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

इटहरीका मेयर द्वारिकलालले गल्ती स्वीकारे


जेठ २६, काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारहरुसँग माफी मागेका छन् । पत्रकार विराट अनुपमको फेसबुक स्टाटसमा जेठ २१ मा कमेन्ट गरेपछि उत्पन्न विवादका क्रममा आफूले आवेशमा आएर बोलेका कुरा फिर्ता लिएको जनाउँदै मेयर चौधरीले आइतवार विज्ञप्ति निकालेर दुःख व्यक्त गरेका हुन्।

पत्रकार अनुपमको नाम नलिइ मेयर चौधरीले उनको फेसबुक स्टाटसमा कमेन्ट गरे आक्रोशपूर्ण फोन सम्वादपछि आफूले आवेशमा आएर भनाइहरुबाट उनी र सञ्चारजगतमा परेको चोटपप्रति मेयर चौधरीले दुःख व्यक्त गरेका छन् । उनले आफू लामो राजनीतिक यात्रापछि यहाँ आइसकेको बताउँदै दुई कार्यकाल जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेको स्मरण गरेका छन् ।

‘२४ वर्षको उमेरमै तत्कालीन हाँसपोसा गाउँविकास समितिको दुई कार्यकाल अध्यक्ष भएर परीक्षण भइसकेको छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘म उद्दण्ड हुँदै होइन, एक अनुशासित व्यक्ति हुँ।’ आवेगजन्य परिस्थितिका कारण आफूले पत्रकार अनुपम र अन्य पत्रकारबारेमा बोलेका कुरा पनि मेयर चौधरीले फिर्ता लिएको बताएका छन्।

‘मेरो भनाइबाट उहाँ र सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु। सञ्चारजगतप्रति चोट पुर्याउने मेरो कुनै मनासय छैन र आगामी दिनमा पनि रहने छैन।’ उनले इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति पूर्णप्रतिवद्ध रहेको बताएका छन् ।

‘हामी दुई पक्ष परिस्कृत र परिमार्जित बन्दै इटहरीको विकास र समृद्धिमा अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो’, चौधरीले भने, ‘प्रेस जगतको भूमिकाबिना नेपालमा ठुलाठुला राजनीतिक परिवर्तन सम्भव हुने थिएनन्। यति गौरवशाली महत्त्व रहेको प्रेस जगतले पनि आन्तरिक शुद्धीकरण र सुदृढीकरण गर्न सके सञ्चारजगतको मर्यादामा अझै निखार आउने कुरामा दुईमत नहोला।’ उनले आफूहरु भ्रष्टाचारविरुद्धको अभियानमा रहेको बताउँदै यसमा प्रेस जगतको रचनात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।

‘यो अभियानमा समस्त सञ्चारकर्मी मित्रहरुलाई सहयोगका लागि अनुरोध गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘पुनः दोहोर्याउन चहान्छु, उपमहानगरले इटहरीको विकासमा कुनै कसर बाँकी राख्ने छैन। परिवर्तन र समृद्धिको यात्रामा सबै पक्षलाई सामेल भइदिन अनुरोध गर्दछु।’

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार