• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा विद्युतको चरम लापरबाहीले घाँस काट्न गएकी महिलाको मृत्यु, पोल नै गायब !


जेठ २७, सल्यान । सल्यानमा विद्युतको तारमा लट्पटिएर एक महिलाको ज्यान गएको छ । जिल्लाको बागचौर नगरपालिका २ शेराचौरमा आज बिहान घाँस काट्न हिडेकी ३६ बर्षीया  भुमी ओलीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

विद्युतको तार जमिन छुनेगरी भुईमा झरेको र हिड्दै गर्दा एक्कासी तारमा लट्पटिएर करेन्ट लागेको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी प्रमुख लिलाभक्त बादेले लेकाली अनलाइनलाई जानकारी दिए । उनका अनुसार विद्युत प्राधिकरणले क्षेतीपुर्ती दिने सहमतीमा शव उठाएर पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

यात नेपाल विद्युत प्राधिकरण सल्यानका प्रमुख अर्जुन घिमीरेले बिजुलीको तार भुईमा झरेको स्वीकार गर्दै स्थानीयलाई दोष दिएका छन् । उनले थोरै दुरीको लागी पठाएको पोल धेरै दुरी बनाएर स्थानीय उपभोक्ता समितीले तार तानेको प्रतिकृया दिएका छन् ।

लेकाली अनलाइन सँग कुरा गर्दै उनले भने, “सुरुमा हामीसँग कम पोल थिए, थोरै दुरीको लागी त्यहि पोल दिएका थियौँ, तर स्थानीयले राजनीतिक पावरमा टाढा–टाढा पोल राखेर विद्युत सुचारु गरे ।” सुरुमा तार नझरेपनि भर्खरै त्यसरी तार झरेको उनको भनाई छ ।

पछिल्लो समय उक्त ठाउँमा एउटा पोल थप गरेर कार्यालयबाट पठाइसकेको तर सो पोल गायब भएको उनले खुलासा गरेका छन् । उक्त पोल कहाँ गयो भन्नेबारे अनुसन्धान भैरहेको उनले बताए । उनले आफ्नो नियम कानुन लत्याएर राजनीति पावरमा उपभोक्ता समिती र ठेकेदारले आफुखुसी काम गरेको बताए ।

अनुगमन नगरेरै राजनीतिक दबावमा किन विद्युत सुचारु गर्नुहुन्छ भन्ने लेकाली अनलाइनको प्रश्नमा उनले भने, “हामीले सिस्टमेट अनुसारको काम गर्न खोजेका हौँ, तर स्थानीयको दबाव र राजनीतिक प्रेसरले गर्दा हामी कहिलेकहीँ चुक्नु परेको छ ।” अबदेखि त्यस्तो राजनीतिक पावर नचल्ने उनले बताए ।

अहिले सल्यानमा विद्युतका पोल धेरै भएको भन्दै उनले पोल कम भएको र शंकासपद ठाउँमा तत्काल आफुहरुलाई खबर गर्न आग्रह गरे । कर्मचारी कम भएकोले काम गर्न पनि कठिनाई भैरहेको उनको भनाई छ ।

प्राधिकरणको नेपालगंज शाखाले मृतको विवरण थप जाँचबुझ गरेर क्षेतीपुर्ती दिने उनको भनाई छ । विद्युत दुर्घटनामा मृत्यु हुनेलाई ५ लाख सम्म क्षेतीपुर्ती दिने सरकारी व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २७ गते सोमवार