• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

प्रहरीले धरपक्कड गरेकोमा नेकपाकै नेताहरुको आपत्ति, प्रतिनिधिसभा बैठक स्थगित


जेठ २७, काठमाडौँ । सोमबार मध्यान्ह १२ बजेर ५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजे बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो । संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने कांग्रेसको अडान थियो।

सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक पटक बैठक चलाउन खोजेपनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो। निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मंगलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ। सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

प्रहरीले धरपक्कड गरेकोमा नेकपाकै नेताहरुको आपत्ति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन् । सत्तारुढ नेता अग्निप्रसाद सापकोटाले आईतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाएका हुन् । सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासा जवाफ दिँदै उहाँले राजनीतिक सहमति जुटाएर मात्रै सो विधेयक अघि बढाउन पनि सरकारलाई सुझाव दिए ।

यसैबिच राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रर्दशनकारीहरुमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गरे । उनले संविधान विपरित सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिए ।

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाए । उनले गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको आरोप पनि लगाए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २७ गते सोमवार