• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

मन्त्री नडुबुन भनेर ६० हजार खर्च गरी दुई दिनसम्म खोलाका ढुंगा पन्छ्याइएको थियो


जेठ २८, स्याङ्जा । सोमबार बेलुका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेपछि सो गाउँपालिका अध्यक्षले चालकलाई दोष दिएका छन् । अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा.२ झ ४०२९ नम्बरको गाडी पल्टेको थियो ।

गाडी पल्टेपछि सो गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले भने, “मन्त्री आउने भनेपछि पूरै दुई दिन मेसिन चलायौँ, खोलाका ठूला ढुंगा पन्छायौँ, सडकका खाल्टा र्पुयौँ, तर चालकको कमजोरीले मन्त्री खोलामा डुब्नुभयो”

“सहरे खोलामा पुल शिलान्यास गर्न आउने भनेपछि बाटो बनाउन दुई दिनसम्म म आफैँ खटिएँ । आठ–आठ घन्टा पूरै मेसिन चलाउन लगाएँ । खोलाका ठूला ढुंगा फालियो, सडकमा ग्राबेल हालेर खाल्टा पुरियो ।”, उनले भने, “हिजो साँझ र आज बिहान पनि सडक अवलोकन गरेको हुँ । मन्त्रीको गाडी सलल जाओस् भनेर कुनै कसर बाँकी राखिनँ । दुई दिनमा ६० हजार खर्च भयो । तर, मन्त्रीको चालकको कमजोरीले गाडी खोलामा पल्टियो, मन्त्री डुब्नुभयो । धन्न ठूलो दूर्घटना भएन ।”

गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो । दैनिक तीनवटा मिनिबस, १० जिप र मालवाहक सवारीसाधनहरू दरौँ खोलाको यही भँगालोबाट वारपार गर्न बाध्य छन् ।

देशकै पहिलो होमस्टे भनेर चिनिने स्याङ्जाको सिरुबारीसम्म दरौँ खोलो हुँदै सवारीसाधन चल्छन् । पोखराबाट स्याङ्जा सदरमुकाम हुँदै अर्जुनचौपारी बजार आउने गाडी जोखिमपूर्ण रूपमा दरौँ खोलो तरेर सिरुबारीसम्म पुग्छन् । स्थानीयले असोजदेखि जेठसम्म यसरी नै यात्रा गर्नुपर्छ । बर्खाको तीन महिना यो रुटमा यातायात बन्द हुन्छ ।

सहरे खोलामा मन्त्री महासेठले शिलान्यास गरेको पुल तयार भए दरौँमा अर्को पुल आवश्यक नपर्ने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल बताउँछन् । ‘दरौँ खोलानजिकै ठूलो पहरो छ । त्यो पहरो केही महिनाभित्रै फोड्ने योजना छ । त्यसपछि दरौँ नतरी किनारैकिनार सहरे पुगिन्छ । त्यहाँ पुल बनेपछि खोलाबाट गाडी तर्नुपर्दैन,’ उनले भने ।

पुल अर्जुनचौपारी–३ हुँदै आँधीखोला–१ जोडिने मार्गअन्तर्गत पर्छ । तीन करोड सात लाख लागतमा पुल निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जिएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार