• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

संचारक्षेत्रमा ओली सरकारको दमन, जनकपुरबाट ९ जना पत्रकार पक्राउ


जेठ २९, धनुषा । धनुषा (जनकपुर)बाट ९ जना पत्रकार पक्राउ परेका छन् । सरकारले लोककल्याणकारी विज्ञापन छापेकोको भुक्तानीमा भारी कटौती गरिएको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राख्दै शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई आज दिउँसो ४ः३० बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महासंघ प्रदेश नम्बर २ का सचिव आरएन विश्वास, महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका प्रदेश सभासद्द्वय वैद्यनाथ यादव, नवीनकुमार गुप्ता, सप्तरी शाखाका कार्यसमिति सदस्य भुषणकुमार सिंह र विन्दु यादवलगायत सदस्यहरु धर्मपाल राउत, गोपाल गुप्ता र परिस कर्णसहित ९ जना रहेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जनाएका छन् ।

जिल्ला हुलाक कार्यालय धनुषामा धर्ना र तालाबन्दीमा रहेका पत्रकारमाथि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो । आफ्ना जायज मागहरु राखी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको भन्दै महासंघले खेद प्रकट गरेको छ ।

महासचिव विष्टले जारी गरेको विज्ञप्तीमा यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य भएको ठहर गरिएको छ । विज्ञप्तीमा भनिएको छ, “महासंघ प्रहरीबाट भएको दमनको निन्दा र भर्त्सना गर्दै पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, पत्रकारहरुले उठाएका जायज मागहरुप्रति गम्भीर भई यथाशीघ्र पूरा गर्न सरकारसँग माग गर्दछ ।”

 

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार