• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

मुलुकमा अब खतरा आउन सक्ने प्रचण्डको चेतावनी


जेठ २९, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अहिले अदृश्य लडाईँ चलिरहेको बताएका छन् । उनले जनप्रतिनिधिले मोजमस्ती (रिल्यक्स) गरे लोकतन्त्रमाथि खतरा उत्पन्न हुने बताएका हुन् ।

अच्युतराज स्मृति प्रतिष्ठानले बुधबार चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकमा गुणात्मक परिवर्तन भए पनि निरंकुशतावादीहरूको चलखेलले गर्दा नदेखिने लडाईँ चलिरहेको बताएका हुन । ठूला आन्दोलनपछिको राजनीतिक परिवर्तन घोषणा भए पनि राज्य संरचना पुरानै ‘स्कुल’ अनुसार चल्दा उपलब्धि गुम्ने खतरा रहेको बताएका हुन् ।

केहि नियम कानुन परिवर्तन भए पनि अझै धेरै कानुन पञ्चायतकालीन भएकाले परिवर्तनलाई संस्थागत गरी विकासतर्फ लम्कन समस्या भइरहेको प्रचण्डको भनाइ थियो । विगतमा २००७ साल पछिका विभिन्न राजनीतिक उतारचढावलाई हेर्दा परिवर्तन उल्ट्याउँदै पुरानै राज्य संरचना हाबी हुनेगरेको स्मरण गर्दै प्रचण्डले यसपल्ट पनि त्यस्तो भए अहिलेसम्म कहिल्यै नभएको दुर्घटना हुने चेतावनी दिएका हुन् ।

उनले भने, ‘२००७ सालपछि राणासाशनबाट शाह साशनतर्फ रुपान्तरण हुँदा केहि अधिकार जनताले पाए पनि पुरानै राज्य संरचनाको निरन्तरता थियो । ३० वर्षे पञ्चायत घोर निरंकुसतातर्फ फर्कियो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि पनि राजतन्त्र अन्तर्गतकै बहुदल थियो। हरेक परिवर्तन निरंकुसताकै सेरोफेरोमा रहँदा जनताले पूर्ण अधिकार पाएनन्।’ यसअघिको राजनीतिक उपलब्धी उल्टिए पनि धेरै ठुलो क्षति नभएको प्रचण्डको भनाइ थियो। अहिलेको गुणात्मक परिवर्तन उल्टिए इतिहासमा कहिल्यै नदेखिएको दुर्घटना हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार