• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

हाइड्रोपावरले ड्याम खोलेपछि खोलाले बगाउँदा दाङकी विपना भुसाल बेपत्ता


ओमप्रकाश गुप्ता/ जेठ ३०, भालुवाङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकैको आँखुखोलाले बुधबार दाङ देउखुरी राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक निवासी लेखनाथ भुसालकी १९ वर्षीया छोरी विपना भुसाललाई बगाएर बेपत्ता भएकी छिन् ।

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । उनि काठमाडौँ स्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी प्राक्टिकलका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएको परिवार स्रोतले जनाएको छ।

आँखुखोला हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी दिए । जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए ।

पाँच सय बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै स्थानीयवासीले वारिपारि गर्न बनाएको काठेपुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने उनले बताए ।

बेपत्ता युवतीको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३० गते बिहिवार